खरो प्रश्न गरेर अरुलाई र्याखर्यास्ती पार्ने जगदीशले एक पटक नैतिकताको कसीमा उँभिँदा के फरक पर्ला र ?
काठमाडौं, २४ वैशाख । कुनै समय जगदीश खरेल भनेपछि राम्रो प्रस्तोताको छवि बनाएको सञ्चारकर्मीको परिचयमा हुनुहुन्थ्यो । मुख्य गरेर राजनीतिक अन्तर्वार्ताहरुमा नेताहरुलाई खरो प्रश्न गरेर र्याखर्याख्ती बनाउने खरेल अहिले भने आफैँ प्रश्नको घेरामा पर्नुभएको छ । इमेज च्यानलमा काम गरिरहनु भएका खरेल जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बन्नुभयो । सञ्चारमन्त्री बन्ने निश्चित भएपछि खरेलले इमेज च्यानलको समाचार कक्षमा ‘मेरो आजको दिनसम्म हाजिरी भयो पछि फर्केर पनि यहिँ आउँछु’ भन्दै मन्त्री पदलाई अस्थायी र सञ्चारकर्मलाई स्थायी बनाउने सन्देश दिनुभएको थियो । उहाँको त्यो प्रतिवद्धतालाई पनि धेरैले सकारात्मक भनेर प्रशंसा गरेका थिए । सञ्चारमन्त्रीको सपथ लिने बेलामा पनि उहाँले तत्कालिन सञ्चार सचिवलाई सपथपछि पहिलो हस्ताक्षर गर्ने माइन्युटलाई फेरि सच्याउन लगाएर ल्याउन लगाएपछि खरेलको खुव प्रसंशा भएको थियो ।
त्यतिपछि भने उहाँ पटक–पटक विवादमा तानिदैँ आउनु भएको छ । आफूलाई आदर्श व्यक्तिका रुपमा परिचय दिने उहाँले फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्ने तयारी गरेको केही पहिला नै सूचना चुहिएको थियो । तर, उहाँले त्यसलाई अस्वीकार मात्रै गर्नु भएन । आफूहरु ६ महिनाका लागि मन्त्री भएर आएको र आफ्नो जिम्मेवारी निर्वाचन सम्पन्न गराउने मात्रै भएको भन्दै काइते तर्क गरेर उहाँले त्यतिबेला पनि लोकरिझ्याई गर्नुभएको थियो ।
नेताहरुलाई स्टुडियोमा बोलाएर सातोपुत्लो लिने उहाँको स्वाभाव सञ्चारकर्मी हुँदा पनि त्यति धेरै असल छवि नभएको उहाँ निकटका व्यक्तिहरुले पनि बेलाबखत चर्चाको विषय बनाउने गर्थे । तर, सबै कुरालाई उहाँले खरो प्रश्नको मुखण्डोले छोपेपछि कसैले पनि प्रश्न गर्ने ल्याकत राखेका थिएनन् ।
यतिसम्म कि उहाँ फेरि पनि मन्त्री बन्ने दौडमा सहभागी हुँदै मनोनयन दर्ता गर्ने केहीबेर अघि मात्रै मन्त्रिपदबाट राजीनामा दिएर बस्नु भएको थियो । त्यतिबेला पनि उहाँको दोहोरो चरित्रबारे धेरै आलोचना भएको थियो ।
हावाहुण्डरीमा सांसद बनेपछि उहाँ मन्त्री बन्ने दौडमा हुनुहुन्थ्यो । तर, केही मिडियाहरुको समाचार अनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचित सांसद खरेललाई प्रधानमन्त्री बालेन्द्र साहले उहाँको विवादित पृष्ठभूमिबारे बुझेर सञ्चारमन्त्रीको जिम्मेवारी दिन आनाकानी गरेको भन्ने उल्लेख गरेका थिए ।
एक चर्चित साप्ताहिकको समाचार अनुसार खरेलले एनसेलका मुख्य लगानीकर्ता सतिशलाल आचार्यसँग गोप्य भेटवार्ता गरेको आरोप नै लगाएको समाचार बाहिर आएको छ ।
राजस्व हिनामिना गर्न र सरकारको स्वामित्वमा कम्पनी आउन नदिन नेपाली मूलका आचार्यको स्पेक्ट्रलाइट युके कम्पनीलाई एनसेल जिम्मा लगाइएको चर्चापछि तत्कालीन सार्वजनिक लेखा समितिले स्वामित्व खरिदबिक्रीको प्रतिक्रया रोक्न निर्देशन दिएको थियो । उनै व्यक्तिसँग पनि खरेलको हिमचिम रहेको खवर त्यो साप्ताहिकले छापेको थियो । सम्पत्ति शुद्धीकरणमा तानिएसँगै दीपक भट्ट अनुसन्धानको घेरामा परेपछि चाचान माथि धितोपत्र ऐन २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूर गरेको आरोप लागेको छ । उनै चाचानले जेनजी आन्दोलनपछि नयाँ सरकार गठनका बेला दूर सञ्चारको एउटा लफडा सल्ट्याउने शर्तमा सञ्चारमन्त्री बनाउन सुधन गुरुङलाई नगद बुझाएको दावी स्रोतको रहेको भन्दै सोही मिडियाले समाचार छापेको छ । चाचानको काम फत्ते गर्ने योजनासहित खरेललाई मन्त्री बनाएको पनि चर्चा चल्ने गरेको छ ।
अन्तिम घडीमा मन्त्रीबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बन्नु र त्यतिबेला सञ्चार सचिव राधिका अर्याललाई रातारात सरुवा गरेको घटनाले पनि खरेलमाथि केही शंका गर्ने ठाउँ भने जिवित छ । त्यतिबेला सञ्चारमा राम्रै परिचय बनाएकी राधिका अर्याललाई बिना कारण हटाएर एकाएक लक्ष्मी बस्नेतलाई ल्याइएको थियो ।
लक्ष्मी जगदीशको गृहजिल्ला दोलखाकी हुनुहुन्छ । यतिसम्म कि मन्त्रीको गैरकानुनी दबाब स्वीकार नगरेकै कारण राधिकालाई हटाएर लक्ष्मीलाई ल्याइएको हो भन्ने चर्चाले पनि त्यतिबेला राम्रो बजार तताएको थियो ।
चार महिना मन्त्री हुँदा टेलिफोन अपरेटर र इन्टरनेट सेवाप्रदायक कम्पनीलाई सहुलियत दिने निर्णय गराउन खोजेको, चिनियाँ कम्पनी हुवावेइलाई बिलिङको ठेक्का दिने सम्झौता रद्द गर्ने निर्णय पनि शंकाको घेरामा परेको, नेपाल टेलिकमको फोरजी नेटवर्क विस्तारको समेत जिम्मा पाएको हुवावेइलाई बिलिङको जिम्मा दिँदा टेलिकमको सबै डाटा उसैको नियन्त्रणमा पुग्ने तर्कका आधारमा सम्झौता रद्द गराएको जस्ता आरोप पनि उहाँमाथि लागेको छ ।
यस्तो आरोप लागेपछि कुनै बेला अरुलाई अनावश्यक विषयमा समेत खरो प्रश्न गरेर र्याखर्याख पार्ने खरेलले जिम्मेवारी बोध गर्दै आफूलाई अनुसाशनको घेरामा राख्नुपर्ने नैतिक जिम्मेवारी छ । अहिले खरेल देश बाहिर हुनुहुन्छ । विभिन्न मिडियामा समाचार आएपछि खरेलले सामाजिक सञ्जालमार्फत आफूमाथि मिडिया ट्रायल भएको गनुसो गर्नुभएको छ । उहाँले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको आरोप पनि लगाउनु भएको छ ।
त्यति मात्रै होइन उहाँले ‘सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि प्रयाप्त छ’ भन्दै नियोजित तथा कपोल्कल्पित प्रहारले आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ भन्दै चुनौति पनि दिनुभएको छ र अन्त्यमा उहाँले बाँकी कानूनी उपचार खोज्ने भन्नुभएको छ । उहाँलाई ती सबै बाटाहरु खुला छन् तर एक पटक नैतिकताको कसीमा उँभिँदा के फरक पर्ला र, होइन ?