मगर संस्कृतिको जीवन्त सङ्ग्रहालय रामकोटः घरवास (होमस्टे) मा रमाउँदै पर्यटक

तनहुँ, २४ वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ। बन्दीपुर बजारबाट करिब सात किलोमिटर पश्चिम र सदरमुकाम दमौलीबाट १३ किलोमिटरको दूरीमा रहेको यो गाउँ मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयका रूपमा चिनिन्छ।

समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा अवस्थित रामकोटको शान्त वातावरण र मौलिक ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गरिरहेको छ। परम्परागत ढुङ्गाले छाएका घर, सफा गल्ली र चिटिक्क परेका आँगनले गाउँको सौन्दर्य झनै बढाएको छ।

कूल ९५ घरधुरी रहेको यस मगर बस्तीका ४५ घरमा अहिले सामूहिक ‘होमस्टे’ (घरवास) सञ्चालनमा छ। रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेका अनुसार, २०७६ सालमा १४ वटा घरबाट सुरु भएको होमस्टे कार्यक्रम विस्तार हुँदै अहिले ४५ घरमा पुगेको हो।

यहाँ पुग्ने पर्यटकलाई मगर समुदायको मौलिकता झल्काउने झ्याउरे, कौरा र चुड्काजस्ता सांस्कृतिक नृत्यमार्फत मनोरञ्जन प्रदान गरिन्छ। “हामीले मगर संस्कृतिको जगेर्नाका साथै गाउँलेको आयआर्जन बढाउन होमस्टे सुरु गरेका हौँ। यसलाई समयसापेक्ष परिमार्जन गर्दै लैजाने हाम्रो लक्ष्य छ,” अध्यक्ष आलेले भन्नुभयो।

गाउँको प्राकृतिक सौन्दर्य र स्थानीय परिकारले पर्यटकलाई लोभ्याउने गरेको छ। “पर्यटकहरू यहाँको प्रकृति, संस्कृति र न्यानो आतिथ्यताको प्रशंसा गर्दै फर्कनुहुन्छ,” होमस्टे सञ्चालक मनमाया थापाले भन्नुभयो, “हामीले मौसमअनुसार गाउँमै उत्पादित जैविक तरकारी, रैथाने चामल, खसी र स्थानीय कुखुराको मासु खुवाउने गरेका छौँ।”

अर्की सञ्चालक बिहीसरा आलेका अनुसार होमस्टेले स्थानीयको आयआर्जन बढाउनुका साथै स्वरोजगारीको अवसरसमेत सिर्जना गरेको छ। विगतमा परम्परागत कृषिमा मात्र निर्भर स्थानीयवासीको जीवनस्तर होमस्टे सञ्चालनपछि फेरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले पनि चासो देखाएको छ। यस वर्ष होमस्टे सञ्चालन भएका केही घरको आँगनमा ढुङ्गा बिछ्याउन गाउँपालिकाले रु. ८ लाख विनियोजन गरेको छ।

त्यसैगरी, बन्दीपुरमा सञ्चालित ‘भिलेज सफारी’ ले पनि रामकोटमा पर्यटक बढाउन मद्दत गरेको छ। सफारी सञ्चालक वसन्त पौडेलका अनुसार, पर्यटकको इच्छाअनुसार जङ्गल सफारीकै शैलीका सवारीसाधन प्रयोग गरी उनीहरूलाई गाउँसम्म पुर्‍याउने गरिएको छ। यहाँबाट बन्दीपुरका साथै केशवटार र छाब्दी बराहीजस्ता गन्तव्यमा पनि सहजै पुग्न सकिन्छ।

यसैबीच, गाउँ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हालै बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, बन्दीपुर गाउँपालिका र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीको संयुक्त आयोजनामा भएको मार्टमा गण्डकी प्रदेशका ३० वटा होमस्टे सहभागी थिए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले मार्टमार्फत रामकोट र रुम्सीजस्ता गाउँको परिचयात्मक भ्रमण गराइएको र यसले व्यावसायिक साझेदारी बढाउने विश्वास व्यक्त गर्नुभयो।

मार्टले ‘समृद्ध गाउँ, सशक्त पर्यटन’ को नारासहित १० बुँदे घोषणापत्र जारी गरेको छ। जसमा गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको आधार बनाउने, होमस्टेको सेवा र गुणस्तर सुधार्न तालिम दिने, स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने र युवालाई गाउँ पर्यटनमा जोड्दै उद्यमशीलता बढाउने प्रतिबद्धता जनाइएको छ।

भिटोफ गण्डकी प्रदेशकी अध्यक्ष शोभा सापकोटाले गण्डकी प्रदेशका धेरै गाउँले पर्यटकीय सम्भावना बोकेको भन्दै सबैको संयुक्त प्रयासमा यस्ता गन्तव्यको प्रवर्द्धन र विकास गर्नुपर्नेमा जोड दिनुभयो।