पश्चिमी वायुको प्रभाव : देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, वैशाख २५ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रको समेत संयुक्त प्रभावका कारण मौसममा बदलाब आएको हो ।
अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली देखिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसोको पूर्वानुमान
कोशी र मधेश प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ । कोशी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी तराई क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज रातिको पूर्वानुमान
पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली रहने देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, मधेश प्रदेश र अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।
मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।