सूर्यमुखी तेल उद्योगमा तोकिएभन्दा कम परिमाण राखेर बिक्री गरेको आरोपमा सञ्चालक पक्राउ

काठमाडौं, २५ वैशाख । उपभोक्तालाई ठगी गर्दै प्याकेटमा तोकिएभन्दा कम परिमाण (तौल) राखेर सूर्यमुखी तेल बिक्री गरेको आरोपमा प्रहरीले एक तेल उद्योगका सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ‘छहारी’ र ‘ओमकार’ ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ‘ओमकार आयल इन्डस्ट्रिज प्रा.लि.’ का सञ्चालक विजय श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार, ललितपुरको गोदावरी नगरपालिका–५, लेलेमा सञ्चालित उक्त उद्योगले मापदण्डविपरीत कम तौल राखेर तेल प्याकेजिङ गरिरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

“उक्त ब्रान्डको सूर्यमुखी तेलमा प्याकेटमा उल्लेख गरिएको मापदण्डभन्दा कम तौल राखेर बजारमा बिक्री वितरण भइरहेको गोप्य सूचना हामीलाई प्राप्त भएको थियो,” प्रवक्ता कार्कीले भन्नुभयो, “सोही सूचनाका आधारमा अनुसन्धान गर्दा तेलको परिमाण तोकिएभन्दा कम रहेको फेला परेपछि सञ्चालकलाई नियन्त्रणमा लिइएको हो।”

प्रहरीले सञ्चालक श्रेष्ठलाई पक्राउ गर्नुका साथै उद्योगबाट ९०५ कार्टुन सूर्यमुखी तेलसमेत बरामद गरेको छ।

पक्राउ परेका श्रेष्ठमाथि कालोबजारी तथा उपभोक्ता ठगी कसुरमा कारबाही अघि बढाइने बताइएको छ। यस घटनाको विस्तृत कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि श्रेष्ठलाई बरामद गरिएको तेलसहित जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।