खोटाङलाई ‘कफी हब’ बनाउने लक्ष्य : ‘उत्पादनमा उपप्रमुख महाभियान’ मार्फत गाउँमै रोजगारी

काठमाडौँ, बैशाख २६ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा हिजोआज एउटा नयाँ उत्साह छाएको छ । वर्षौँदेखि कोदो, मकै र धान खेतीमा मात्र सीमित यहाँका भिरालो पाखाहरू अब कफीको सुगन्धले भरिँदैछन् । नगरलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र युवालाई वैदेशिक रोजगारीको सट्टा आफ्नै माटोमा पसिना बगाउन प्रेरित गर्ने उद्देश्यले नगरपालिकाले एउटा महत्वाकांक्षी यात्रा सुरु गरेको छ— ‘उत्पादनमा उपप्रमुख महाभियान’ ।

यही महाभियानमार्फत नगरपालिकाले आफूलाई भविष्यको ‘कफी हब’ का रूपमा चिनाउने सपना बुनेको छ ।

बाँझो जमिनमा कफीको सपना

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेर यो अभियान थालेको हो । अभियानको मुख्य लक्ष्य प्रतिवर्ष १० लाख किलोग्राम प्रशोधित कफी उत्पादन गर्नु र जिल्लाबाट कफीका लागि बाहिरिने करोडौँ रुपैयाँ रोक्नु हो ।

नगर उपप्रमुख विशन राईका अनुसार यो वर्ष मात्रै २८ लाख कफीका बिरुवा रोप्ने तयारी छ । “हाम्रो मुख्य लक्ष्य भनेकै युवा शक्तिलाई गाउँमै रोजगारी दिनु र बाँझो जमिनको सदुपयोग गर्नु हो,” उपप्रमुख राई भन्नुहुन्छ, “अहिले कफीका लागि वार्षिक झण्डै २० करोड रुपियाँ जिल्लाबाट बाहिरिन्छ । हामी त्यो पैसा गाउँमै रोक्न चाहन्छौँ र केही वर्षभित्रै नगरलाई कफी हब बनाउनेछौँ ।”

प्रविधि र प्रोत्साहनको संगम

परम्परागत खेती गरिरहेका किसानलाई व्यावसायिक कफी खेतीतर्फ आकर्षित गर्न नगरपालिकाले बिरुवा मात्र निःशुल्क वितरण गरेको छैन, प्रविधि र ज्ञान पनि घरदैलोमै पुर्‍याएको छ । कफी रोप्नका लागि खाल्डो खन्न २० वटा आधुनिक ड्रिलिङ मेसिन प्रयोगमा ल्याइएका छन् । यसले कामलाई छिटो र सहज बनाएको छ ।

नगरपालिकाका ४४ वटा उत्पादन समूहहरू अहिले कफी रोप्ने तयारीमा जुटिरहेका छन् । समुद्री सतहबाट ८०० देखि १६०० मिटरसम्मको उचाइमा कफी राम्रो हुने देखिएपछि किसानहरू उत्साहित भएर आफ्ना बाँझो पाखाहरू खन्न थालेका छन् ।

गाउँमै रोजगारीको अवसर

यो महाभियानले उत्पादन मात्र होइन, रोजगारीका अवसर पनि सिर्जना गरेको छ । वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा कफीका ठूला नर्सरीहरू स्थापना गरिएका छन्, जहाँ स्थानीयले प्रत्यक्ष काम पाएका छन् ।

नर्सरीमा काम गरिरहेकी नेर्पाकी अञ्जना रिजाल भन्नुहुन्छ, “रोजगारीका लागि कि सहर जानुपर्थ्यो कि विदेश । तर अहिले आफ्नै गाउँमा काम पाइएको छ, यसले हामीलाई ठूलो राहत दिएको छ ।” अञ्जनाजस्तै ७० देखि ८० जना स्थानीयले अहिले यस महाभियान अन्तर्गत दैनिक रोजगारी पाइरहेका छन् ।

समृद्धिको नयाँ बाटो

पन्ध्र वडा रहेको यस नगरपालिकामा २८ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन छ । नगरपालिकाले कुल १ करोड ४० लाख कफीका बिरुवा रोप्ने दीर्घकालीन लक्ष्य राखेको छ, जसबाट वार्षिक २० अर्ब रुपियाँसम्मको आम्दानी हुनसक्ने प्रक्षेपण गरिएको छ ।

नगरपालिकाको यो प्रयासले कृषकहरूमा नयाँ आशा जगाएको छ । कफीको बिरुवा रोप्नुअघि नै प्राविधिक ज्ञान पाएका किसानहरू अब आफ्नो श्रमले पाखा पखेरामा ‘कालो सुन’ फलाउन आतुर छन् । जब यी पाखाहरूमा कफी लटरम्म फल्न थाल्नेछन्, तब यो नगरपालिकाको पहिचान केवल एउटा पहाडी सहरमा मात्र सीमित रहने छैन, यसले नेपालकै एउटा प्रमुख ‘कफी हब’का रूपमा नयाँ परिचय स्थापित गर्नेछ ।