बगरमा पसिना, राजमार्गमा बजार : मुक्तकमैयाको फेरिएको दिनचर्या
काठमाडौँ, वैशाख २७ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधनहरू कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित वनहरा क्षेत्रमा पुगेपछि अचेल अक्सर रोकिने गर्छन् । सडक किनारमा खरले छाएका साना टहराहरू छन्, जहाँ लहरै सजाइएका हुन्छन्– गाउँकै बारीमा टिपेका हरिया काँक्रा, रसिला तरबुजा, खरबुजा र लौका । चर्को गर्मीमा यात्रा गरिरहेका यात्रीहरूका लागि यी टहराहरू शीतलता र प्यास मेटाउने थलो बनेका छन् । तर, यी टहराहरू केवल व्यापारिक केन्द्र मात्र होइनन्, यी त वर्षौँदेखि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया परिवारको स्वाभिमान र आत्मनिर्भरताका साक्षी हुन् ।
बगर बन्यो बजारको आधार
कृष्णपुर नगरपालिका-२ का नीरज राना विगत चार वर्षदेखि वनहरा नदीको बगरमा पसिना बगाइरहनुभएको छ। सरकारले पुनःस्थापनाका क्रममा दिएको ५ कट्ठा जमिनमा घर ठड्याएका रानाका लागि त्यही जमिनले परिवार पाल्न पुग्दैनथ्यो। तर, जब उनले नदीको बाँझो बगरलाई रोजगारीको थलो बनाए, उनको जीवनको लय फेरियो ।
राना माघ महिनादेखि नै बगर खन्न सुरु गर्नुहुन्छ। काँक्रा, तरबुजा र लौका फलाउनुहुन्छ र राजमार्गको छेउमा बसेर बेच्नुहुन्छ। “दैनिक पाँच हजार रुपैयाँसम्मको बिक्री हुन्छ,” राना भन्नुहुन्छ, “सिजनभरि एक लाखसम्म कमाइ हुन्छ, जसले परिवारको खर्च सहजै धानेको छ।”
८० परिवारको साझा सङ्घर्ष
वनहरा मुक्तकमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगरखेतीमा आश्रित छन्। विगत ६ वर्षदेखि यो क्रमले व्यावसायिक रूप लिएको छ। स्थानीय शिवलाल रानाले त बगरका साथै अरूको खेत समेत भाडामा लिएर खेती विस्तार गर्नुभएको छ। गत वर्ष तरबुजा नबिक्दा घाटा व्यहोरेका उनी यस वर्ष काँक्रा र लौकाबाट राम्रो मुनाफा हुने आशमा छन्। “सिजनमा दुई–तीन लाख बचत हुन्छ,” शिवलाल भन्छन्, “हाम्रो आम्दानीको मुख्य स्रोत नै यही हो।”
राजमार्गमा झर्ने यात्रीहरूका लागि यो बजार सस्तो र ताजा सामान पाउने ठाउँ बनेको छ । “यहाँका काँक्रा र तरबुजा निकै मीठा र ताजा हुन्छन्, त्यसैले म प्रायः यहाँ रोकिन्छु,” नियमित ग्राहक एवं सवारी चालक रमेश बोहरा बताउनुहुन्छ ।
मिहिनेत धेरै, जोखिम उस्तै
बगरमा देखिने हरियालीका पछाडि कम मिहिनेत छैन। एउटा सिजनको खेतीका लागि ३० हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गर्नुपर्ने किसान अनिता राना बताउनुहुन्छ । मल, बीउ, सिँचाइ र दिनरातको कुरुवा – यी सबैका लागि ठूलो श्रम खर्चिनुपर्छ।
खेती सफल भए पनि बजार व्यवस्थापनमा भने चुनौती छ । राजमार्गको छेउमै बसेर व्यापार गर्दा तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण दुर्घटनाको जोखिम सधैँ रहिरहन्छ। “नगरपालिकाले एउटा सुरक्षित र व्यवस्थित बिक्री केन्द्र बनाइदिए हाम्रो ज्यान पनि जोगिन्थ्यो र व्यापार पनि सजिलो हुन्थ्यो,” स्थानीय धीरेन्द्र राना गुनासो गर्नुहुन्छ ।
मजदुरीबाट मालिकतर्फको यात्रा
हिजोका दिनमा एक छाक टार्न अर्काको घरमा हलो जोत्ने र मजदुरी गर्ने मुक्तकमैयाहरू आज आफ्नै उद्यमका मालिक बनेका छन् । जुगमानी चौधरी र विरा रानाका अनुसार पहिले मजदुरीका लागि गाउँ-गाउँ धाउनुपर्थ्यो, तर अहिले आफ्नै बगरमा फलेका तरकारीले नुन, तेल र चामलको जोहो गरिदिएको छ ।
यद्यपि, यी किसानसम्म सरकारी अनुदान, उन्नत बीउ र सिँचाइका सुविधा पुग्न सकेका छैनन् । उनीहरू अझै पनि आफ्नै व्यक्तिगत लगानी र पौरखमा निर्भर छन्। “सरकारले अलिअलि मात्रै सहयोग गरिदिए हामी उत्पादन अझै बढाउन सक्थ्यौँ,” लीलावती वडायक भन्नुहुन्छ ।
वनहरा नदीको बगर अहिले केवल बालुवाको थुप्रो मात्र रहेन, यो त मुक्तकमैया परिवारका लागि सुन फलाउने क्षेत्र बनेको छ । बिहानदेखि साँझसम्म बगरमा बगाएको पसिनाले उनीहरूलाई आर्थिक रूपमा मात्र बलियो बनाएको छैन, समाजमा आत्मसम्मानसहित बाँच्ने आधार समेत प्रदान गरेको छ ।