धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु : युवा रोजगारी र नीतिगत सुधारमा मुख्यमन्त्रीको जोड

काठमाडौँ, जेठ २ ।  सुदूरपश्चिम प्रदेशको समग्र विकास र नीतिगत सुधारका विषयमा बहस गर्न धनगढीमा दुई दिने ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा आयोजित उक्त कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले समृद्ध प्रदेश निर्माणका लागि युवा जनशक्तिलाई रोजगारी र आयआर्जनका क्षेत्रमा जोड्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले सीमित स्रोतसाधनका बिच जनताका आवश्यकतालाई सम्बोधन गर्ने गरी स्पष्ट र कार्यान्वयनयोग्य योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशमा व्याप्त गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार र युवा पलायन जस्ता चुनौतीहरू अझै कायमै रहेको स्वीकार गर्दै मुख्यमन्त्री शाहले भन्नुभयो, “यस कचहरीको छलफलबाट प्राप्त निष्कर्षले सरकारलाई आगामी नीति तथा कार्यक्रममा सुधार गर्न महत्त्वपूर्ण मार्गनिर्देश गर्ने विश्वास लिएको छु ।”

कार्यक्रममा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशमा रहेका पर्याप्त सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै, पूर्वमन्त्री नरेश शाहीले कचहरीको मुख्य उद्देश्य प्रदेशको ऐतिहासिक विरासत र पहिचानलाई उजागर गर्दै साझा विकास दृष्टिकोण तयार गर्नु रहेको बताउनुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सुशासनका विषयमा हुने विज्ञहरूको बहसबाट प्राप्त सुझावलाई आगामी बजेट निर्माणका लागि केन्द्र सरकारसमक्ष समेत पठाइनेछ ।

भारतको कुमाउँ विश्वविद्यालयका प्राध्यापक डा. रितेश शाहले सुदूरपश्चिमको सम्भावनालाई प्रचारप्रसार गर्न अन्तर्राष्ट्रिय स्तरबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले विकासका लागि इमानदारिता र साझा उत्तरदायित्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाका प्राथमिकताका बारेमा जानकारी गराउनुभएको थियो । दुई दिनसम्म चल्ने यस कचहरीमा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाका अधिकारी, नागरिक समाज र विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ । उद्घाटन सत्रपछि सङ्घीयताको अभ्यास, चुनौती र समृद्धिका सम्भावनाका विभिन्न सत्रहरूमा बहस सुरु भएको छ ।