प्रकृतिको आराधना र पहिचानको मुर्चुङ्गा : धरानमा यसरी झुम्यो साकेला

काठमाडौँ, जेठ २ ।

गैरी गाउँको ढोडे ना उखु, भाचौना भाचाँै लाग्छ ।
ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।।

धरान–१७ स्थित साकेला पार्कको खुल्ला आकाशमुनि जब यी हरफहरू गुन्जिए, तब सयौँको सङ्ख्यामा रहेका तन्नेरी र बुढापाकाका खुट्टाहरू ढोल र झ्याम्टाको तालमा एउटै लयमा चल्न थाले । हातमा चम्मर र सेउली हल्लाउँदै, ‘होइ-होइ’ को गर्जनका साथ गोलाकार घेरामा नाचिरहेका किराँती युवायुवतीहरूको उत्साहले जेठको प्रचण्ड गर्मीलाई पनि बिर्साइदिएको थियो ।

वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको किराँत राई समुदायको महान् पर्व ‘उभौली साकेला’ आज धरानमा भव्य रूपमा समापन गरिँदैछ । यो केवल एउटा नाच मात्र होइन, यो त प्रकृतिप्रतिको अगाध श्रद्धा, पितृको सम्मान र किराँती सभ्यताको जीवन्त इतिहास हो ।

फेरिँदै युवापुस्ताको दृष्टिकोण
साकेला थानमा मौलिक गहना र पहिरनमा सजिएकी करुणा किराती दंग देखिनुहुन्थ्यो । “हाम्रा पुर्खाले मान्दै आएको यो चाड हाम्रो अस्तित्वसँग जोडिएको छ,” उहाँ भन्नुहुन्छ, “साकेलाले हामीजस्ता नयाँ पुस्तालाई सामूहिकता र प्रकृतिलाई सम्मान गर्न सिकाउँछ । त्यसैले हरेक छ महिनामा आउने उधौली र उभौलीमा हामी काम छोडेर भए पनि नाच्न आइपुग्छौँ ।”

अहिले साकेला थानहरूमा परम्परागत पहिरनमा सजिएका युवापुस्ताको बाक्लो उपस्थिति देखिन्छ । दौरा–सुरुवाल र ढाका टोपीमा सजिएका युवा र गुन्युचोली, शिरबन्दी, चेप्टे सुन, नौगेडी र पैसाको हारी मालामा सजिएका युवतीहरूको लस्करले साकेलाको रौनकलाई झनै बढाएको छ । प्रशिक्षक विवेक राईका अनुसार पछिल्लो एक दशकमा युवाहरूमा आफ्नो संस्कृतिप्रतिको मोह निकै बढेको छ ।

के हो उभौली र उधौली ?
किराँती मान्यता अनुसार वर्षलाई दुई भागमा बाँडिएको छ – उधौली र उभौली । वैशाख पूर्णिमादेखि सुरु हुने ‘उभौली’ को अर्थ खेतीपातीको समय सुरु हुनु र गर्मी बढेसँगै पशुपक्षी तथा मानिसहरू लेकतिर (उँभो) लाग्नु हो । नदीमा माछाहरू बेँसीबाट लेकतिर चढ्ने र चराचुरुङ्गीहरूले गुँड लगाउने यो समयलाई सृष्टिको उत्सवका रूपमा मनाइन्छ ।

मंसिर पूर्णिमामा मनाइने ‘उधौली’ मा भने अन्नबाली भित्र्याएर चिसो छल्न बेँसीतिर (उँधो) झर्ने गरिन्छ । यसरी प्रकृति र मौसमको परिवर्तनसँगै मानव जीवनको लय मिलाउने यो अनौठो र वैज्ञानिक परम्परा किराँत समुदायमा जीवित छ ।

सिलीमा जीवनको कथा
साकेला नाचमा देखाइने विभिन्न मुद्राहरूलाई ‘सिली’ भनिन्छ । यी सिलीहरूमा मानव जन्मदेखि मृत्युसम्मका क्रियाकलाप, खेतीपाती गर्दाको अवस्था (खन्ने, छर्ने, गोड्ने, काट्ने) र वरपरका पशुपक्षीको हाउभाउलाई चित्रण गरिन्छ । किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार, यो नाचमार्फत आफ्ना आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामालाई सम्झिँदै प्रकृतिको पूजा गरिन्छ ।

साकेलालाई लिम्बूहरूले ‘चासोक’ वा ‘यक्वा तङनाम’, सुनुवारले ‘फोलष्यादर’, बान्तावाहरूले ‘साकेन्वा’ र दुमी राईहरूले ‘तोसी’ जस्ता विभिन्न नामले पुकार्ने गर्छन् । नाम फरक भए पनि सबैको उद्देश्य एउटै हो— प्रकृति र पितृको आराधना ।

देशभरि साकेलाको लहर
धरानको विजयपुरस्थित ऐतिहासिक हाङ बुद्धिकर्ण राईको दरबार क्षेत्रबाट सुरु भएको साकेलाको लहर आज पूर्वी पहाडका खोटाङ, भोजपुर, सङ्खुवासभादेखि काठमाडौँको टुँडिखेलसम्म फैलिएको छ । इटहरी, बेलबारी, दमक र विर्तामोड जस्ता सहरहरूमा पनि यसले उत्सवको रूप लिएको छ ।

साकेला पार्कमा ढोल र झ्याम्टाको आवाज मधुरो हुँदै गर्दा सहभागीहरूको मनमा भने एउटै आशा थियो— “खेतीपाती राम्रो होस्, अनिकाल नलागोस् र अर्को छ महिनापछि उधौलीमा फेरि यसै गरी भेट्न पाइयोस् ।”

प्रकृति र संस्कृतिको यो सुन्दर फ्युजनले किराँती पहिचानलाई मात्र जोगाएको छैन, नेपाली समाजमा विविधताबीचको एकताको सन्देश समेत प्रवाह गरिरहेको छ ।