‘असल नागरिक बन्नू है’ : बालबालिकाका सपनालाई काँध थाप्दै कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ, जेठ २ । “तपाईँहरू भविष्यमा के बन्न चाहनुहुन्छ ?”

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यो एउटै प्रश्न सोध्दा राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका बालबालिकाका आँखामा एउटा छुट्टै चमक देखियो । कसैले ‘डाक्टर’ बन्ने सपना सुनाए त कसैले ‘सेना, प्रहरी, शिक्षक, फुटबलर, क्रिकेटर र नृत्यकार’ ।

बालबालिकाका ती अबोध तर सुन्दर सपनाहरू सुनेपछि स्नेही अभिभावकको शैलीमा डंगोलले भन्नुभयो, “तपाईँहरूको यही सपना पूरा गराउन हामी प्रतिवद्धताका साथ काम गर्नेछौँ । तपाईँहरू मात्र राम्ररी पढ्नुहोस्, हामी तपाईँहरूलाई असल नागरिक भएको हेर्न चाहन्छौँ ।”

काठमाडौँ महानगरपालिकाले नदी किनार र जोखिमयुक्त स्थानबाट आएका बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले शुक्रबार एक विशेष पहलको सुरुवात गरेको छ । होल्डिङ सेन्टरमा रहेका ६१ बालबालिकामध्ये पहिलो चरणमा १४ जनालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनका लागि नाम चलेका संस्थागत विद्यालयहरूमा पठाइएको छ ।

महानगरपालिका, सम्बन्धित विद्यालय र अभिभावकबिच भएको त्रिपक्षीय सम्झौतापछि यी बालबालिकाले अब कक्षा १० सम्मको शिक्षा र गाँस–बासको चिन्ताबाट मुक्त भएर पढ्न पाउनेछन् ।

अभिभावकीय भूमिकामा महानगर
कार्यवाहक प्रमुख डंगोलले पढ्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको र यसलाई सुनिश्चित गर्नु महानगरको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो केवल विद्यालय पठाउने काम मात्र होइन, उनीहरूको भविष्य निर्माणको जग हो ।”

सम्झौता अनुसार महानगरपालिकाले विद्यार्थीका लागि आवश्यक पोशाक, झोला, स्टेसनरी र अन्य शैक्षिक सामग्री उपलब्ध गराएर ‘अभिभावकीय भूमिका’ निर्वाह गर्नेछ । विद्यालयले भने आवाससहितको पूर्ण निःशुल्क शिक्षा प्रदान गर्नेछन् ।

हौसला र आँसुको संगम
बालबालिकाले नयाँ जीवनको सुरुवात गर्न पाउँदा अभिभावकहरू हर्षित देखिए पनि बालबालिकालाई आफूबाट अलग राख्नुपर्दा केही भावुक समेत बनेका थिए । अभिभावक गीता लामाले भन्नुभयो, “आजसम्म नातिलाई आफूबाट अलग गराएको थिइनँ, अहिले छुट्टिनुपर्दा मन अमिलो भएको छ । तर, राम्रो ठाउँमा पढ्न पाउने भएपछि एउटा ठूलो हौसला पनि मिलेको छ ।”

अर्की अभिभावक निर्जला पासवानले एसईई पछि के गर्ने भन्ने अन्योलका बिच महानगरले कम्प्युटर सिक्ने र थप पढ्ने अवसर जुराइदिएकोमा खुसी व्यक्त गर्नुभयो ।

निजी विद्यालयको साथ
प्याब्सन र एनप्याब्सन अन्तर्गतका कुल १३ वटा विद्यालयहरूले यी बालबालिकालाई आफ्नो काखमा भित्र्याएका छन् । एन्जल हर्ट, गेटवे एकेडेमी, भ्याली पब्लिक, नेक्सस इन्टरनेशनल, केएमसी लगायतका विद्यालयहरूले महानगरको यो मानवीय सेवामा हातेमालो गरेका हुन् । प्याब्सन जिल्ला समितिका अध्यक्ष गगनसिंह ऐर र एनप्याब्सन महानगरका अध्यक्ष नवराज पाण्डेले बालबालिकाका सपना पूरा गर्नु आफूहरूको पनि जिम्मेवारी भएको बताउनुभयो ।

महानगरको शिक्षा विभागका अनुसार बाँकी बालबालिका र एसईई दिएर बसेका विद्यार्थीहरूका लागि पनि कक्षा ११ र १२ मा निःशुल्क अध्ययनको प्रबन्ध मिलाउन समन्वय भइरहेको छ । आउँदो आइतबारदेखि यी १४ बालबालिका नयाँ विद्यालय, नयाँ साथी र नयाँ सपनाका साथ आफ्नो शैक्षिक यात्रा सुरु गर्नेछन् ।