काभ्रेमा बेमौसमी वर्षाको कहर : दुई स्थानीय तहमा मात्रै ४६ करोडभन्दा बढीको कृषिबाली नष्ट
काभ्रेपलाञ्चोक, २ जेठ । गत वैशाख १२ र १३ गतेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका दुई स्थानीय तहमा ठूलो आर्थिक क्षति पुर्याएको छ । पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले संकलन गरेको तथ्याङ्कअनुसार कृषि क्षेत्रमा मात्रै ४६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको हो ।
विशेषगरी पनौती नगरपालिकामा आलु बालीमा ठूलो नोक्सानी पुगेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीका अनुसार ७५० हेक्टरमा लगाइएको १० हजार ३०० मेट्रिकटन आलुमा क्षति पुग्दा ४३ करोड २६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । यसबाहेक २५ लाख मूल्य बराबरका ५०० वटा टनेल, १ करोड २५ लाखको गोलभेँडा र १ करोड ५० लाखको काँक्रो खेती नष्ट भएको छ । पनौतीमा मात्रै कुल ४६ करोडको क्षति भएको नगरपालिकाको दाबी छ ।
यता, बेथानचोक गाउँपालिकामा पनि झण्डै ६५ लाख रुपैयाँ बराबरको कृषि उपज नष्ट भएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र पन्तका अनुसार ६ वटा वडाका करिब ३,६०० रोपनी क्षेत्रफलमा लगाइएको आलु, तोरी, मकै, सुन्तला र बोधिचित्तका फूल तथा चिचिला वर्षाले सखाप पारेको छ ।
वर्षाले पुर्याएको क्षतिको अवस्था बुझ्न काभ्रेपलाञ्चोकका सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले प्रभावित क्षेत्रको अवलोकन गरेको छ । धुलिखेल र पनौतीका विभिन्न वडामा पुगेर किसानका समस्या सुन्दै सांसद चौलागाईंले पीडित कृषकलाई राहत दिलाउन संसद्मा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।
“क्षतिको वास्तविक विवरण आएपछि पीडित कृषकलाई विना भेदभाव राहत उपलब्ध गराउन पहल गर्नेछु,” उहाँले भन्नुभयो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले प्रभावित किसानलाई राहत वितरणका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
धुलिखेल नगरपालिकाका केही वडाहरूको क्षतिको विवरण आउन अझै बाँकी रहेको र तथ्याङ्क संकलन कार्य जारी रहेको कार्यालयले जनाएको छ । यसअघि असोजमा आएको बाढी पहिरोका पीडितलाई राहत वितरण गरिरहेको सरकारले वैशाखको यो क्षतिका विषयमा पनि छिट्टै निर्णय लिने अपेक्षा गरिएको छ ।