लगातार तीन दिन बढेको नेप्सेमा करेक्सन, झन्डै ४० अंकले घट्दा ४ अर्ब ६६ करोडको कारोबार
काठमाडौँ, २९ बैशाख । लगातार तीन कारोबार दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन (मंगलबार) भने घटेर बन्द भएको छ । बढेको बजारमा नाफा सुरक्षित गर्नेहरू हावी हुँदा यस दिन नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा झरेको छ ।
यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.५५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८९ अंकले ओरालो लागेका छन् ।
नेप्से परिसूचक घटे पनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो कारोबार दिन (सोमबार) ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो ।
यस दिन ३३८ वटा कम्पनी (स्टक) का १ करोड ६ लाख ७८ हजार कित्ता शेयर ६२ हजार ५१२ पटक खरिदबिक्री भएका थिए ।
समग्र बजार राताम्मे हुँदा पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमा भने खरिदकर्ताको चाप देखिएको छ । यस दिन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १९५ रुपैयाँले बढेर १,३९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नाफा कमाएका अन्य कम्पनीहरूको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम छ ।
यता, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १२.४० प्रतिशतले घटेको छ । त्यस्तै, कुमारी धनवृद्धि योजनाको एकाइ मूल्य पनि ८ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेसनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको १८ करोड र रिडी पावर कम्पनीको १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये यस दिन म्युचुअल फन्डबाहेक बाँकी १२ वटै उपसमूहको परिसूचक घटेका छन् । म्युचुअल फन्ड उपसमूहको परिसूचकमा भने सामान्य अंकको सुधार देखिएको छ ।
यस दिन व्यापार उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस उपसमूहको परिसूचक सर्वाधिक २.३३ प्रतिशतले घटेको छ । त्यस्तै, वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूह १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।