विश्वकप लिग-२ : अमेरिकाद्वारा नेपाल सामु १९६ रनको लक्ष्य प्रस्तुत, दीपेन्द्रको ४ विकेट

काठमाडौँ, जेठ २  । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा अमेरिकाले नेपाललाई जितका लागि १९६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रनको योगफल तयार पारेको हो । खेलको सुरुवातमा निकै बलियो देखिएको अमेरिका एक समय १५३ रनमा ३ विकेटको स्थितिमा थियो । तर, नेपाली बलरहरूले कसिलो बलिङ गरेपछि अमेरिकाले बाँकी ७ विकेट केवल ३७ रन जोड्दा गुमाउन पुग्यो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८३ रनको योगदान दिए । उनले ८९ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, सेहन जयसूर्याले ५२ बलमा ५० रनको अर्धशतकीय पारी खेले । मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर खडा गर्न सकेनन् ।

नेपालका तर्फबाट बलिङमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । सोमपाल कामीले २ विकेट झार्दा सन्दीप लामिछाने र गुलशन झाले समान १–१ विकेट आफ्नो नाममा गरे ।

जारी त्रिकोणात्मक शृङ्खलामा यसअघि नेपाल र अमेरिका दुवै टोली स्कटल्याण्डसँग पराजित भइसकेका छन् । अङ्क तालिकामा १८ अङ्कका साथ आठौँ स्थानमा रहेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन र ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावना कायम राख्न आजको खेलमा जित हासिल गर्नु अत्यन्त आवश्यक छ ।

अर्कोतर्फ, अमेरिका ३६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ३८ अङ्कका साथ शीर्ष स्थानमा कायम छ । नेपालले अब आफ्नो एकदिवसीय यात्रा सुरक्षित गर्न बाँकी रहेका ११ वटै खेलमा जित निकाल्नुपर्ने दबाब रहेको छ ।