अपाङ्गता भएका बालबालिकाको उज्यालो भविष्य बनाउन कार्यवाहक प्रमुख डंगोलको काँध : विद्यालयमा लिफ्ट जडानसँगै थपिए हर्षका आँसु
काठमाडौँ, जेठ २ । वर्षौँदेखि आफ्ना शारीरिक रूपमा अशक्त सन्तानलाई विद्यालयको माथिल्लो तलामा बोकेर पुर्याउनुपर्ने विवशता अन्त्य भएपछि सिफलस्थित श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयका अभिभावकका आँखाबाट शुक्रबार हर्षका आँसु झरे । एउटा व्हीलचेयर प्रयोगकर्ता बालिकालाई लिफ्टमा राखेर प्रणालीको शुभारम्भ गर्दा विद्यालय परिसरमा एउटा फरक र भावनात्मक दृश्य देखिएको थियो ।
काठमाडौँ महानगरपालिकाको विशेष अनुदान सहयोगमा जडान गरिएको सो लिफ्टको उद्घाटन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर अब केवल बाटो र ढल निर्माणमा मात्र होइन, बालबालिकाको ‘आत्मसम्मान र आत्मविश्वास’ निर्माणमा केन्द्रित हुने सङ्केत दिनुभएको छ ।
लिफ्ट: सुविधा मात्र होइन, आत्मसम्मानको आधार
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “बाहिरबाट हेर्दा विद्यालयमा लिफ्ट जडान गर्नु एउटा सामान्य भौतिक सुधार जस्तो लाग्न सक्छ, तर दृष्टिविहीन र व्हीलचेयर प्रयोगकर्ता बालबालिकाका लागि यो उनीहरूको स्वतन्त्रता र आत्मसम्मानको विषय हो ।” उहाँले थप्नुभयो, “हामी महानगरका विशेष शारीरिक र मानसिक अवस्था भएका बालबालिकाका लागि छुट्टै ‘विशेष विद्यालय’ सञ्चालन गर्ने योजनामा छौँ, ताकि कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुनु नपरोस् ।”
सामुदायिक विद्यालयमा लिफ्ट जडान गरिएको सम्भवतः यो नेपालकै पहिलो उदाहरण हो । विद्यालयमा हाल श्रवण–दृष्टिविहीन, अटिजम, बौद्धिक अपाङ्गता र पूर्ण अशक्त भएका बालबालिकाहरू अध्ययनरत छन् । लिफ्ट जडानसँगै अब यी सबै बालबालिकाको पहुँच विद्यालयका सबै कक्षा कोठाहरुमा सहज भएको छ ।
अभिभावकत्व र आयामिक सेवा
२०२८ सालमा असहाय र अपाङ्गता भएका बालबालिकालाई शिक्षा दिने उद्देश्यले स्थापित यो विद्यालयले केवल किताबी ज्ञान मात्र दिँदैन, यहाँ बालबालिकाका लागि थेरापी र उनीहरूका अभिभावकलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम समेत प्रदान गरिन्छ । कार्यवाहक प्रमुख डंगोलले विद्यालयको यो सेवा पद्धतिलाई प्रशंसा गर्दै भन्नुभयो, “विद्यालयको एकीकृत विकासका लागि केही योजना छन् भने लिएर आउनुहोस्, महानगर लगानी गर्न तयार छ ।”
वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले समावेशी शिक्षाका लागि वडा कार्यालयले पनि विशेष लगानी गरिरहेको जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार हाल ४२७ जना बालबालिका अध्ययनरत यस विद्यालयले शैक्षिक नतिजामा पनि उत्कृष्ट फड्को मारेको छ । शैक्षिक सत्र २०८२ मा ३ जना विद्यार्थीले ३.६ देखि ३.९ जीपीएसम्म ल्याएर शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् ।
लिफ्ट उद्घाटनपछि कार्यवाहक प्रमुख डंगोलले विद्यालयका कक्षा कोठा, शिक्षण पद्धति र थेरापी कक्षहरूको अवलोकन गर्दै बालबालिकासँग संवाद समेत गर्नुभएको थियो । विशेष अवस्थाका बालबालिकाको शैक्षिक, सामाजिक र मानसिक विकासका लागि महानगरले लिएको यो अग्रसरताले सामुदायिक विद्यालयको रूपान्तरणमा नयाँ आयाम थपेको छ ।