चितवनमा जङ्गली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एकको अवस्था गम्भीर
चितवन, ३ जेठ । चितवनको इच्छाकामना गाउँपालिकामा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । इच्छाकामना–१ कुलबाङका एकै परिवारका दुई बालबालिकाको उपचारका क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । बिरामीमध्ये नमुनाको गत जेठ १ गते र सञ्जयको शनिबार राति भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिनुभयो ।
गत वैशाख २९ गते स्थानीय श्यामबहादुर चेपाङको परिवारका पाँच सदस्यले जङ्गली च्याउको तरकारी खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरूमध्ये तीन जनाको अवस्था जटिल बनेपछि जेठ १ गते उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
उपचार सुरु गर्नासाथ नमुनाको ज्यान गएको थियो भने सञ्जयको गएराति मृत्यु भएको हो । सोही परिवारकी १३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था अझै चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
वर्षायाम सुरु भएसँगै जङ्गलमा उम्रिने जथाभाबी च्याउ नखान स्वास्थ्यकर्मी र स्थानीय प्रशासनले सर्वसाधारणमा आग्रह गर्दै आएका छन् । विषाक्त च्याउका कारण चेपाङ बस्तीमा बर्सेनि यस्ता दुखद घटना हुने गरेका छन् ।