भक्तपुरमा प्रदेशस्तरीय स्टार्टअप सम्मेलन सम्पन्न: युवा उद्यमीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न मन्त्री श्रेष्ठको आग्रह
भक्तपुर, ३ जेठ । भक्तपुरमा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा बागमती प्रदेश सरकारको सहकार्यमा शनिबार आयोजित सम्मेलनमा ५०० भन्दा बढी युवा उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न स्वदेशमै स्वरोजगारको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नवप्रवर्तनका क्षेत्रमा काम गर्ने उद्यमीहरूका लागि प्रदेश सरकारले विशेष सहकार्य र प्रोत्साहनका कार्यक्रमहरू ल्याउने योजना बनाइरहेको जानकारी दिनुभयो ।
“युवा उद्यमीको विकासका लागि प्रदेश सरकार सधैँ तयार छ,” मन्त्री श्रेष्ठले भन्नुभयो, “स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी आर्थिक समृद्धिको बाटोमा लाग्नु आजको आवश्यकता हो ।”
सम्मेलनका संयोजक एवं युवा उद्यमी उपसमितिका संयोजक कृतन अवालका अनुसार सम्मेलनले व्यवसायीहरूबीच एउटाले गरेको काम अर्कोले हुबहु नक्कल गर्ने प्रवृत्तिको अन्त्य गरी बजारको मागअनुसार फरक र नयाँ व्यवसाय सुरु गर्नुपर्ने निष्कर्ष निकालेको छ । स्टार्टअप संस्कृति र नवप्रवर्तनमैत्री वातावरण निर्माणका लागि यो सम्मेलन कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठलगायतले तीन तहका सरकारले स्टार्टअपलाई सहयोग गर्ने स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल र ३० वटा प्रदर्शनी कक्ष (स्टल) हरू राखिएका थिए । सुवास शर्मा, विनायक शाह, डा. प्रकाशकुमार श्रेष्ठलगायतका विज्ञहरूले उद्योगको नयाँ ढाँचाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सैफ गौचन, श्रीया गिरीलगायतका युवा उद्यमीले आफ्ना व्यावसायिक अवधारणा र सफलताका अनुभव सुनाउनुभएको थियो ।
सम्मेलनकै अवसरमा भक्तपुर उद्योग वाणिज्य सङ्घले आगामी जेठ १५ र १६ गते ‘दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला–२०८३’ आयोजना गर्ने जानकारी दिएको छ । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ भक्तपुर औद्योगिक क्षेत्रमा उक्त मेला सञ्चालन गरिने सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपानेले बताउनुभयो ।