नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ, जेठ ५ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउनुभएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । यसअघि आजै सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान रहेको छ ।