सीद्वारा पुटिनको भव्य स्वागत: अमेरिकासँगको असन्तुष्टि र रुससँगको ‘बिना सर्त’ मित्रताको पुनरावृत्ति
बेइजिङ (एजेन्सी), ६ जेष्ठ । चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङमा भव्य ‘रेड कार्पेट’ स्वागत गर्दै दुई देशबीचको सम्बन्धलाई विश्वको “अशान्तिमा शान्तिको शक्ति” को रूपमा परिभाषित गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ऐतिहासिक शिखर वार्ताको केही दिनपछि नै सीले पुटिनसँग उच्चस्तरीय भेटवार्ता गरेका हुन्।
बुधबार बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ मा आयोजित बैठकमा सीले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिलाई “अशान्ति र रूपान्तरणको मिश्रण” भन्दै अमेरिकाको नाम नलिई ‘एकपक्षीय आधिपत्यवाद’ प्रति कडा टिप्पणी गरे। उनले भने, “अन्तर्राष्ट्रिय परिस्थितिमा उथलपुथल छ, तर चीन र रुसले आफ्नो रणनीतिक समन्वयलाई अझ सुदृढ बनाउनुपर्छ।”
चीनले यसअघि राष्ट्रपति ट्रम्पलाई पनि भव्य स्वागत गरेको थियो, तर पुटिनको भ्रमणमा भने दुई नेताबीचको व्यक्तिगत निकटता र “बिना सर्तको मित्रता” स्पष्ट रूपमा झल्किएको देखिन्थ्यो। पुटिन र सीले एक संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै “बहुध्रुवीय विश्व” को चाहना पुनः दोहोर्याएका छन्।
अमेरिकी ‘गोल्डेन डोम’ को विरोध
दुवै नेताले अमेरिकी सैन्य नीतिको आलोचना गर्दै राष्ट्रपति ट्रम्पको बहुचर्चित ‘गोल्डेन डोम’ मिसाइल रक्षा प्रणाली निर्माण गर्ने योजनाको विरोध गरे। संयुक्त विज्ञप्तिमा भनिएको छ, “अमेरिकी ‘गोल्डेन डोम’ परियोजनाले रणनीतिक स्थिरतामा स्पष्ट खतरा पैदा गर्छ र यसले आक्रमण र रक्षात्मक हतियारबीचको सन्तुलनलाई बिगार्छ।”
यस्तै, राष्ट्रपति सीले इरान र इजरायलबीच जारी युद्धको विषयमा बोल्दै यसको तत्काल अन्त्य हुनुपर्नेमा जोड दिए। उनले युद्धका कारण विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापार प्रणालीमा अवरोध पुगेको बताए।
घनिष्ठ मित्रता र रणनीतिक साझेदारी
पुटिनको यो २५औँ चीन भ्रमण हो। चीन र रुसले हालैका वर्षहरूमा व्यापार, कूटनीति र सुरक्षामा आफ्नो सहकार्यलाई व्यापक बनाएका छन्। युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धका कारण रुसको लागि चीन आम्दानीको प्रमुख स्रोत बनेको छ।
बैठकको सुरुमा पुटिनले चीन-रुस सम्बन्ध “अभूतपूर्व उचाइ” मा पुगेको बताए। उनले सीसँगको व्यक्तिगत सम्बन्धको चर्चा गर्दै एउटा चिनियाँ उखान उद्धृत गरे— “एक दिनको बिछोड तीनवटा शरद ऋतु जस्तै लामो महसुस हुन्छ।”
२० वटा नयाँ सम्झौता
भ्रमणका क्रममा चीन र रुसबीच ऊर्जा, उद्योग, कृषि, यातायात र उच्च प्रविधिका क्षेत्रमा गरी करिब २० वटा सम्झौता भएका छन्। साथै, दुवै देशले आफ्ना नागरिकका लागि सन् २०२७ सम्म भिसा-रहित यात्राको सुविधा थप गर्ने र आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा सहकार्य गर्ने सहमति गरेका छन्।
यद्यपि, यो भ्रमण पुटिनका लागि केही चुनौतीपूर्ण समयमा भएको छ। युक्रेनले हालै मस्कोमा ५०० भन्दा बढी ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ भने रुसले युद्धमैदानमा केही भूभाग गुमाउनु परेको छ। यस परिस्थितिमा रुसको अर्थतन्त्र चीनमाथि बढी निर्भर देखिएकाले सीले ऊर्जा क्षेत्रमा बेइजिङको हितका लागि थप सहुलियत माग्न सक्ने विश्लेषकहरूको बुझाइ छ।
चीनले अमेरिका र रुस दुवैका नेतालाई पालैपालो आतिथ्यता प्रदान गरेर आफूलाई विश्वको एक शक्तिशाली ‘पावरब्रोकर’ (शक्ति सन्तुलनकर्ता) को रूपमा स्थापित गर्ने प्रयास गरेको देखिएको छ।