प्रधानमन्त्रीको उपस्थिति खोज्दै विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको उपस्थिति माग गर्दै अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बिहीबारको कार्यसूचीअनुसार प्रधानमन्त्री एवं गृहमन्त्री शाहले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्यालले उनको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमलाई सो प्रस्ताव पेस गर्न समय दिनुभएको थियो ।

प्रधानमन्त्रीको सट्टा अर्को मन्त्रीले प्रस्ताव अघि बढाउन खोजेपछि विपक्षी दलका सांसदहरूले नियमापत्ति जनाउँदै बिरोध सुरु गरेका थिए । उनीहरूले नीति तथा कार्यक्रमदेखि नै प्रधानमन्त्री संसद्‌मा अनुपस्थित रहेको भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका हुन् ।

विपक्षी सांसदहरूले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को व्यवस्था स्मरण गराउँदै सभामुखको ध्यानाकर्षण गराएका छन् । उक्त नियमअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि निर्धारण गरिनुपर्ने प्रावधान छ ।

जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिन भइसक्दा पनि प्रश्नोत्तर कार्यक्रम नभएको र प्रधानमन्त्रीले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विधेयक पेस गर्न समेत अरूलाई पठाएको भन्दै विपक्षीले आपत्ति जनाएका हुन् ।

त्यसपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच संसद्‌मा भनाभन र सवाल–जवाफ सुरु भएपछि स्थिति तनावपूर्ण बनेको थियो । सदनमा होहल्ला र अवरोध जारी रहेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।