यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १७ साउन । नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।

हाल सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहे पनि देशका अन्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना समेत रहेको छ ।

आज राति पनि देशभरको मौसममा सुधार हुने देखिँदैन । राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।