पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति : विश्वविख्यात आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
काठमाडौँ, १६ साउन । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा गएको भीषण हिमपहिरोमा परी विश्वविख्यात नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ । गत बिहीबारदेखि बेपत्ता भएका उनीहरूको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ ले आज सामाजिक सञ्जालमार्फत गराएका हुन् ।
हिमाल आरोहणका क्रममा ६ हजार मिटरभन्दा माथिको उचाइबाट खसेको हिमपहिरोले आरोहीहरूलाई करिब ८०० मिटर तलसम्म बगाएको थियो । शुक्रबार चार जनाको शव फेला परे पनि अन्य ६ जना बेपत्ता थिए । प्रतिकूल मौसमका कारण उद्धार कार्यमा ढिलाइ भएको थियो ।
ज्यान गुमाउने नेपाली आरोहीहरूमा निर्मल पुर्जासहित ६ जना आरोहीले ज्यान गुमाएका छन् । मृत्यु हुने अन्य नेपालीहरूमा :
१. पुरबहादुर गुरुङ (गोरखा)
२. किलीपेम्बा शेर्पा (दोलखा)
३. ग्यालु शेर्पा (ओखलढुङ्गा)
४. नवाङ थिन्डु शेर्पा (सङ्खुवासभा)
५. निमा शेर्पा (सङ्खुवासभा)
सोही घटनामा सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान) र म्यालोरी गेइस (अमेरिका) को पनि मृत्यु भएको छ ।
म्याग्दीको दानामा जन्मिनुभएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जाले सन् २०१९ मा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल मात्र ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । उहाँका साहसिक आरोहणका कथाहरूमा आधारित ‘१४ पिक्स: नथिङ इज इम्पसिबल’ नामक वृत्तचित्र विश्वभर चर्चित छ । उहाँको निधनले विश्व पर्वतारोहण क्षेत्रमा एउटा युगको अन्त्य भएको महसुस गरिएको छ ।
पुर्जाका व्यावसायिक सहकर्मी एवं प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै घटनास्थलतर्फ प्रस्थान गर्नुभएको थियो । मृतक आरोहीहरूको शव सङ्कलन र कानुनी प्रक्रियाका लागि आवश्यक समन्वय भइरहेको जनाइएको छ ।