काठमाडौँबाट पूर्व चल्ने ८१ सार्वजनिक बसमा जिपिएस र सिसी क्यामरा जडान, अनलाइन टिकट प्रणाली पनि सुरु

काठमाडौँ, १७ जेठ । काठमाडौँबाट पूर्वी नेपालका विभिन्न गन्तव्यहरूमा सञ्चालन हुने सार्वजनिक बसहरूमा प्रविधिको प्रयोग बढाउँदै सिसी क्यामरा र जिपिएस प्रणाली जडान गरिएको छ। यसका साथै यात्रुहरूका लागि अनलाइनमार्फत नै टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ।

सरकारले देशभरिका सबै सार्वजनिक सवारीसाधनहरूमा अनिवार्य रूपमा जिपिएस र सिसी क्यामरा जडान गर्ने योजना अघि सारेको पृष्ठभूमिमा ‘पूर्व यातायात व्यवस्थापन प्रालि’ ले आफ्नो मातहतका सवारीसाधनहरूमा यो प्रणाली कार्यान्वयनमा ल्याएको हो। प्रालिका अध्यक्ष राजन रोक्काका अनुसार काठमाडौँको नयाँ बसपार्कबाट पूर्वतर्फ चल्ने कुल ८१ वटा सार्वजनिक सवारीसाधनहरूमा जिपिएस र सिसी क्यामरा जडान गरिसकिएको छ।

यात्रुहरूलाई व्यवस्थित र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले वि.सं. २०८० साउनदेखि काठमाडौँ–पूर्व सञ्चालन हुने यातायात सेवालाई एउटै छाता कम्पनी अन्तर्गत आबद्ध गरी सञ्चालन गरिँदै आइएको छ। हाल यस कम्पनीमार्फत तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काँकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर, कटारी, जनकपुर, राजविराज र वीरगञ्जलगायतका क्षेत्रमा नियमित बस सेवा सञ्चालन भइरहेको छ।

कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापाले सरकारको प्रविधिमैत्री यातायात कार्ययोजनालाई व्यवहारमा उतार्न कम्पनी क्रियाशील रहेको बताउनुभयो। उहाँले पूर्व क्षेत्रमा यात्रा गर्ने यात्रुहरूको सहजताका लागि अनलाइन टिकट प्रणाली लागू भइसकेको जानकारी दिँदै अब छिट्टै बसहरूमा यात्रुको ब्यागेज सुरक्षाका लागि ‘लगेज ट्याग’ प्रणाली समेत सुरु गरिने बताउनुभयो।