प्रधानमन्त्री जस्ताे जिम्मेवार व्यक्तिकाे अभिव्यक्ति गैरजिम्मेवार, भौगोलिक अखण्डता सङ्कटमा पर्न सक्छ: कांग्रेसका महामन्त्री पौडेल

काठमाडौँ, १७ जेठ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा बिना तयारी र गैरजिम्मेवार शैलीमा बोल्दा मुलुक कूटनीतिक सङ्कटमा पर्न सक्ने भन्दै उहाँले प्रधानमन्त्रीलाई सचेत गराउनुभएको हो ।

महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले संसद्मा बोल्दा विषयको गम्भीरता र भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । “सदनमा उपस्थित भएर प्रधानमन्त्रीले जनताका प्रतिनिधिको जवाफ दिनु निकै राम्रो अभ्यास हो,” उहाँले भन्नुभएको छ, “तर देशको भौगोलिक अखण्डता जस्तो विषयमा गम्भीर आँकलन नै नगरी तयारीबिना साधारण नागरिककै शैलीमा जवाफ दिँदा मुलुक नै अप्ठेरोमा पर्न सक्छ ।”

नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई उल्लेख गर्दै पौडेलले कुनै पनि मञ्चमा आफ्ना विचारहरू राख्दा प्रधानमन्त्रीले अत्यन्त गहनता र परिपक्वता देखाउनुपर्ने तर्क गर्नुभयो । उहाँले थप्नुभएको छ, “आजको त्रुटिबाट गम्भीर पाठ लिएर, विचार राख्दा विषयको गम्भीरतालाई ध्यान दिँदै मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय गरिमा उँचो बनाउने गरी प्रस्तुत हुन सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु ।”

एमाले महासचिव शङ्कर पोखरेलपछि कांग्रेस महामन्त्री पौडेलले पनि प्रधानमन्त्रीको संसद् सम्बोधनलाई लिएर कडा टिप्पणी गरेपछि राजनीतिक वृत्तमा यो विषय थप चर्चामा आएको छ । प्रधानमन्त्री शाहले आज प्रतिनिधि सभामा सीमा र राष्ट्रिय सुरक्षाका विषयमा आफ्नो धारणा राख्ने क्रममा केही विवादास्पद शब्दहरू प्रयोग गरेको भन्दै प्रमुख राजनीतिक दलका नेताहरूले आलोचना गरिरहेका छन् ।