काठमाडौँमा छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव सुरु: मौलिक कथासँगै एआई वृत्तचित्रको आकर्षण

काठमाडौँ, १८ जेठ । काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डमा ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ आइतबारदेखि भव्य रूपमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस महोत्सवले आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा र पहिचानलाई चलचित्रका माध्यमबाट विश्वसामु चिनाउने लक्ष्य राखेको छ।

महोत्सवमा विभिन्न आदिवासी समुदायका मौलिक कथा र जीवनशैलीमा आधारित कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरू प्रदर्शन गरिनेछ। यस वर्षको महोत्सवमा पहिलोपटक ‘एआई जेनेरेटेड’ (कृत्रिम बुद्धिमत्ताद्वारा तयार पारिएको) वृत्तचित्र समेत समावेश गरिएको आयोजकले जनाएको छ।

महोत्सवका निर्देशक सागर केरुङले आदिवासी जनजातिका लुकेका कथा र संस्कृतिको प्रवर्द्धन गर्न यो मञ्च महत्वपूर्ण हुने जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवले नेपाली चलचित्र क्षेत्रमा विविधता थप्न र अन्तर्राष्ट्रियस्तरमा नेपाली मौलिकतालाई प्रवर्द्धन गर्न सघाउ पुर्‍याउनेछ।

आदिवासी जनजाति चलचित्र महासङ्घका कार्यवाहक अध्यक्ष भुइसल लामाले आफ्नो समुदायको इतिहास र संस्कारलाई जीवन्त राख्न चलचित्र सशक्त माध्यम बनेको बताउनुभयो। महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्प्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’ लगायतका चर्चित चलचित्रहरू प्रदर्शन गरिने कार्यतालिका छ।

महोत्सवको समापनका अवसरमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्रलाई पुरस्कृत गरिनेछ।
महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस्ता कार्यक्रमले मौलिक संस्कृतिको उजागर गर्नुका साथै नेपालको पहिचान प्रवर्द्धनमा टेवा पुग्ने धारणा राख्नुभयो। उहाँले बोर्डले मौलिक र सांस्कृतिक चलचित्रको विकासका लागि सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

महोत्सवमा चलचित्रकर्मी, सांस्कृतिक अभियन्ता र विभिन्न समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ। यो महोत्सव आगामी मङ्गलबारसम्म चल्नेछ।