बाढीपहिराेको ‘रेड जोन’मा काभ्रे: ४७९ बस्ती उच्च जोखिममा, तत्काल स्थानान्तरण असम्भव

काभ्रेपलाञ्चोक, १९ जेठ । यस वर्षको मनसुन सुरु हुनै लाग्दा काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहका ४७९ बस्तीहरू बाढी र पहिरोको उच्च जोखिममा रहेको पाइएको छ। सोमबार जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा सार्वजनिक गरिएको प्रतिवेदनले जिल्लाको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको देखाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार जिल्लाका ४७९ बस्ती उच्च जोखिममा छन् भने २०९ बस्ती खुला स्थानमा र १९२ बस्ती सुरक्षित स्थानमा रहेका छन्। सम्भावित विपद्का बेला हवाई उद्धारका लागि ८१ वटा बस्तीमा हेलिप्याडको व्यवस्था गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जोखिममा रहेका बस्तीहरूलाई तत्काल स्थानान्तरण गर्न नसकिने स्पष्ट पार्नुभएको छ। “अहिलेकै अवस्थामा सबै बस्ती सार्न सम्भव छैन, त्यसैले हामीले ती क्षेत्रलाई विशेष निगरानीमा राख्ने नीति लिएका छौँ,” उहाँले भन्नुभयो, “विपद् आइहालेमा स्थानीय सुरक्षाकर्मीमार्फत ‘क्विक रेस्पोन्स’ गरिनेछ।” यद्यपि, जिल्लामा आवश्यक उद्धार सामग्रीको अभाव रहेको उहाँले स्वीकार गर्नुभयो।

समितिका अनुसार विशेषगरी रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला र दाप्चाखोला जस्ता ठूला नदी तथा खहरे खोलाका तटीय क्षेत्र आसपासका बासिन्दा बढी प्रभावित हुने देखिएको छ। समितिले स्थानीय तहहरूलाई युवालक्षित विपद् प्रतिकार्य तालिम सञ्चालन गर्न र आवश्यक राहत सामग्री जोहो गर्न निर्देशन दिएको छ।

कुन पालिकामा कति जोखिम?
सबैभन्दा बढी: बेथानचोक गाउँपालिका (करिब १०० बस्ती)
पाँचखाल नगर: ८३ बस्ती
बनेपा र नमोबुद्ध नगर: ५०–५० बस्ती
भुम्लु गाउँपालिका: ४० बस्ती
तेमाल गाउँपालिका: ३५ बस्ती
खानीखोला गाउँपालिका: ३० बस्ती
धुलिखेल नगर: २५ बस्ती
महाभारत गाउँपालिका: १९ परिवार
पनौती र मण्डनदेउपुर नगर: १५–१५ बस्ती
रोशी गाउँपालिका: १२ बस्ती
सबैभन्दा कम: चौँरी देउराली गाउँपालिका (५ बस्ती)

विगतका वर्षहरूमा काभ्रेले ठूलो मानवीय र भौतिक क्षति बेहोर्दै आएको छ। वि.सं. २०८१ असोज १० देखि १२ गतेसम्मको अविरल वर्षा र बाढीपहिरामा परी जिल्लामा ७८ जनाले ज्यान गुमाएका थिए भने ६ जना अझै बेपत्ता छन्। सो घटनामा ७५ जना घाइते भएका थिए। गत वर्षको उक्त विनाशकारी विपद्‌मा सबैभन्दा धेरै क्षति पनौती नगरपालिकामा भएको थियो, जहाँ १७ जनाको मृत्यु भएको थियो।