गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, ४ बजे बैठक बस्ने
कास्की, १८ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४:०० बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि आफ्ना प्राथमिकता र योजनाहरू समेटेर यो दस्तावेज ल्याउन लागेको हो।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। सोही बजेटको मार्गचित्रका रूपमा नीति तथा कार्यक्रमलाई लिइन्छ। गत जेठ ११ गतेदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनमा यसअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि विस्तृत छलफल भइसकेको छ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले छलफल गर्नेछन् र त्यसपछि मात्रै सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने प्रक्रिया अघि बढ्नेछ। यसपटकको नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि, उत्पादन र रोजगारी सिर्जनामा विशेष जोड दिने अपेक्षा गरिएको छ।