चितवनमा ३० हजार डलर र १७ थान मोबाइलसहित डाक्टर पक्राउ: अवैध क्रिप्टो कारोबार र ठगीमा संलग्न

चितवन, १९ जेठ । चितवन प्रहरीले भरतपुरमा बसेर अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार र डिजिटल ठगी गर्ने एक चिकित्सकलाई पक्राउ गरेको छ। गैरकानुनी तवरले अभौतिक मुद्राको सञ्चय र कारोबारमा संलग्न रहेको अभियोगमा २९ वर्षीय डा. पप्पुकुमार यादवलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१०, चित्रसेन टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए। प्रहरीले उनको कोठाबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल फोन समेत बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा डा. यादवले नेपालमा प्रतिबन्धित मानिएका वाइनान्स (Binance) र बाइविट (Bybit) जस्ता एप्लिकेसनहरू प्रयोग गरी ठूलो परिमाणमा क्रिप्टोकरेन्सीको अवैध सञ्चय तथा नेटवर्क सञ्चालन गर्ने गरेको खुलेको छ। भरतपुरकै एक अस्पतालमा कार्यरत यादवले चिकित्सकीय पेसाको आडमा यस्तो गैरकानुनी धन्दा चलाउँदै आएको प्रहरीको दाबी छ।

चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभुषण यादवका अनुसार यादवले डिजिटल माध्यमबाट विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी ठगी समेत गर्ने गरेको पाइएको छ। “उनले हालसम्म कति व्यक्तिलाई ठगी गरे र यो नेटवर्कमा अन्य को–को संलग्न छन् भन्नेबारे सूक्ष्म अनुसन्धान भइरहेको छ,” डीएसपी यादवले भन्नुभयो।

प्रहरीले यादवलाई हिरासतमा राखेर विदेशी मुद्रा अपचलन र क्रिप्टोकरेन्सी सम्बन्धी कसुरमा थप कानुनी प्रक्रिया अगाडि बढाएको छ। पछिल्लो समय प्रविधिको दुरुपयोग गरी हुने यस्ता अपराधहरू बढेकाले प्रहरीले विशेष निगरानी बढाइरहेको जनाएको छ।