प्रधानमन्त्रीको सीमा विवादबारेको विवादास्पद भनाइमा प्रवक्ता पोखरेलले यसरी भर्नुभयो रफ्फु

काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री बालेन्द्र साहले संसदमा बोलेको विषयलाई आज सरकारका प्रवक्ताले रफ्फु भर्ने काम गर्नुभएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री साहले संसदमा दिएको अभिव्यक्तिको बचाउ गर्दै आज मन्त्रिपरिषद बैठकपछिको प्रेस ब्रिफिङमा फरक सन्र्दभ सुनाउनु भएको हो । सञ्चारकर्मीहरुले बैठकपछि पोखरेललाई सोधेको प्रश्नको जवाफ दिदैँ उहाँले यसमा परराष्ट्र मन्त्रालयले आवश्यक ब्रिफ दिइसकेको भन्दै गोलमटोल जवाफ दिनुभयो ।

त्यति मात्रै होइन उहाँले ‘सीमा विवाद कसरी सल्टाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले अस्ति भनिसक्नुभएको छ’ भन्दै प्रधानमन्त्री साहको भनाइमा रफ्फु भर्ने काम गर्नुभयो ।

‘हामीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउने क्रममा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले आफू अचम्मित परेको भनेर भन्नुभएको हो,’ रफ्फु भर्दै पोखरेलले भन्नुभयो, ‘यसमा मैले भने जस्तै परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको छ । कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा त्यो संयन्त्रहरूबाट आएको हुँदा दुई देश बसेर त्यसको विवाद चाहिँ मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्री ज्यूको हो । प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिनु भएकै छैन । नेपालले पनि कतिपय ठाउँमा नेपालको डिप्लोम्याटिक नोट इन्डियालाई पठाएको छ, इन्डियाले पनि पठाएको छ । दुई देशहरू बसेर टेबुल टक गरेर जति पनि सीमा विवादहरू छन्, मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नुभएको छ ।’