पहिलो अन्तर वडा स्नुकर च्याम्पियनसिपको उपाधि वडा नं. १७ का विकास महर्जनलाई

काठमाडौँ, १९ जेठ । काठमाडौँ महानगरपालिका वडा नं. १७ का विकास महर्जनले ‘पहिलो वडाध्यक्ष अन्तर वडा स्नुकर च्याम्पियनसिप २०८३’ को उपाधि जित्नुभएको छ। वडा नं. ११ द्वारा आयोजित यस प्रतियोगिताको फाइनल खेलमा महर्जनले वडा नं. ११ का सञ्जयकुमार मुल्मीलाई ७-४ को सेटमा पराजित गर्दै च्याम्पियन बन्नुभएको हो। ‘वेस्ट अफ थटिन’का आधारमा खेलाइएको उक्त फाइनल खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो।

सहभागिता र पुरस्कार वितरण
महानगरपालिकाका २८ वटा वडाबाट ८५ जना खेलाडी सहभागी भएको यस प्रतियोगिताको समापन समारोहमा वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले पुरस्कार वितरण गर्नुभयो ।

विजेता महर्जनले नगद १ लाख ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यस्तै, उपविजेता सञ्जयकुमार मुल्मीले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नुभयो । प्रतियोगिताका अन्य पुरस्कृत खेलाडीहरूमा सेमिफाइनलिस्ट सुजेन शाही (वडा २०) र उदिप शाक्य (वडा ३०)  जनही १२,५०० रुपैयाँ, राइजिङ प्लेयरमा  समीर तण्डुकार (वडा १४) लाई १०,००० रुपैयाँ, बेस्ट प्लेयरमा  सौरभ शाही (वडा ११) लाई १०,००० रुपैयाँ, बेस्ट स्कोररमा  ९४ स्कोर गर्ने राजन लामालाई १०,००० रुपैयाँ प्रदान गरियो । 

प्रतियोगितामा समीर तण्डुकार, सौरभ शाही, विकी खड्गी (वडा १२) र निरजमान सैँजु (वडा १६) क्वाटर फाइनलिस्टका रूपमा समेटिनुभएको थियो ।

खेलको महत्त्व र भविष्यको योजना
पुरस्कार वितरणपछि बोल्दै वडाध्यक्ष हीरालाल तण्डुकारले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न र वडावासीको मनोरञ्जनका लागि महानगरले नियमित खेलकुद कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो । उहाँले प्रत्येक वडाले फरक–फरक खेल विधालाई प्रोत्साहन गर्दा समग्रमा खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

खेलका संयोजक एवं नेपाल विलियर्ड स्नुकर तथा पुल संघका अध्यक्ष सरोज कुमार मुल्मीले विगत ८० वर्षदेखि नेपालमा खेलिँदै आएको स्नुकरलाई वडाले अपनत्व ग्रहण गर्नु ठुलो उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार कुनै समय ‘धनीहरूको खेल’ मानिने स्नुकरलाई अब वडाले आफ्नो वार्षिक खेलकुद तालिकामा समावेश गरेर निरन्तरता दिने योजना बनाएको छ ।

पूर्वाधार र पहुँचको कमीले महँगो मानिएको यस खेललाई स्थानीय तहमार्फत प्रवर्द्धन गरिँदा यसले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।