पोखराबाट उडान भर्न ‘फ्लाइ दुबई’ इच्छुक, मेयर आचार्य र उपाध्यक्ष लुकाजबीच भेटवार्ता
कास्की, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्रयास भइरहेका बेला विश्वकै प्रमुख हवाई सेवा प्रदायक कम्पनी ‘फ्लाइ दुबई’ ले पोखरामा उडान भर्न चासो देखाएको छ। फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाज र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच मङ्गलबार भएको भेटवार्तामा यस्तो सम्भावनाबारे विस्तृत छलफल भएको हो।
भेटका क्रममा उपाध्यक्ष लुकाजले पोखराको सुन्दरता र पर्यटकीय सम्भावनाबाट आफू प्रभावित भएको बताउँदै फ्लाइ दुबईले यस विमानस्थललाई आफ्नो गन्तव्य बनाउन इच्छुक रहेको जानकारी दिनुभयो। उड्डयन सुरक्षा र जोखिम व्यवस्थापनका विज्ञसमेत रहनुभएका लुकाजले पोखरासँग सिधा हवाई सम्पर्क जोड्न पाउनु समग्र क्षेत्रको पर्यटनका लागि सुखद हुने उल्लेख गर्नुभयो।
नगर प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विश्व बजारमा चिनाउन नियमित अन्तर्राष्ट्रिय उडान अनिवार्य रहेको बताउनुभयो। उहाँले विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा सक्षम रहेको र यसअघि भएका विभिन्न चार्टर उडानहरूले यसलाई प्रमाणित गरिसकेको उल्लेख गर्नुभयो।
“पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्नेमा कुनै दुविधा छैन,” मेयर आचार्यले भन्नुभयो, “फ्लाइ दुबई जस्तो प्रतिष्ठित कम्पनीले यहाँबाट सेवा सुरु गरेमा पोखराको पर्यटनले नयाँ उचाइ लिनेछ। यसका लागि कम्पनीका तर्फबाट आवश्यक पहल गरिदिन म अनुरोध गर्दछु।”
मित्रराष्ट्र चीनको २२ अर्ब रुपैयाँभन्दा बढीको ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो। तर, उद्घाटनको झण्डै साढे तीन वर्ष बितिसक्दा पनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको छैन। हाल यो विमानस्थल आन्तरिक उडान र फाट्टफुट्ट चार्टर उडानमा मात्र सीमित छ।
भेटवार्तामा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र ‘पोखरा भ्रमण वर्ष’ का संयोजक गोपीबहादुर भट्टराईको पनि उपस्थिति थियो। फ्लाइ दुबईले उडान सुरु गरेमा खाडी मुलुक र अन्य अन्तर्राष्ट्रिय गन्तव्यबाट आउने पर्यटकका लागि पोखराको पहुँच सहज हुने र विमानस्थलको व्यापारिक उपयोग बढ्ने विश्वास लिइएको छ।