सल्यानकाे भेरी नदीमा जिप खस्दा चालक र धनी बेपत्ता, दुई जना घाइते
सल्यान, २७ साउन । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै बुधबार एउटा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा अन्य दुई यात्रु घाइते भएका छन्।
सल्यानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट अनियन्त्रित भई भेरी नदीमा खसेको हो।
दुर्घटनामा जिपका चालक र जिप धनी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान खुल्न बाँकी रहेको र खोजी तथा उद्धारका लागि स्थानीयवासी र सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् । घाइते दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।