नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, कारोबार रकम भने ३ अर्ब ५३ करोडमा खुम्चियो
काठमाडौँ, २७ साउन । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार सामान्य अङ्कले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ०.५५ अङ्कले बढेर २,६४२.४० विन्दुमा बन्द भएको हो।
आज सेन्सेटिभ इण्डेक्स १.३९ अङ्क, फ्लोट इण्डेक्स ०.२० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अङ्कले बढेको छ। नेप्से परिसूचक सकारात्मक रहे पनि सेयर कारोबार रकममा भने आज केही सङ्कुचन आएको छ।
मंगलबार रु ४ अर्ब ११ करोडको सेयर कारोबार भएको बजारमा आज ३४८ कम्पनीको ४३ हजार ९९० पटकको कारोबारमा रु ३ अर्ब ५३ करोड २१ लाख ५ हजार बराबरको ८७ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
मंगलबार मात्रै नेप्सेमा सूचीकृत भई आजदेखि नियमित कारोबारमा आएको माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य रु ४५ ले बढेर प्रतिकित्ता रु ३४५ मा अन्तिम कारोबार भएको छ। यस्तै, इमर्जिङ्ग नेपालको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ। यता, १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को मूल्य भने सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ३१ करोड ६० लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै, सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड र सोलु हाइड्रोपावरको रु २२ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढ्दा बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ भने बाँकी आठ उपसमूहको परिसूचक घटेको छ।