खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न र सुनसरी–सिरहा घटनाको छानबिन गर्न राष्ट्रियसभा सांसदहरूको माग
काठमाडौँ, २७ साउन । राष्ट्रियसभाका सदस्यहरूले मुलुकमा देखिएको खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र बिक्री वितरणको समस्या तत्काल समाधान गरी आम उपभोक्तालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले ग्यासको आयात र वितरण प्रणालीलाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारलाई विशेष सुझाव दिएका छन्।
नेपाली कांग्रेसका सांसदहरू कमलादेवी पन्त र युवराज शर्माले भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेको भनिए पनि बजारमा चरम अभाव देखिनु चिन्ताको विषय भएको बताउनुभयो। राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नरबहादुर विष्ट तथा भुवनबहादुर सुनारले ग्यासको कृत्रिम अभाव अन्त्य गर्न, महँगी नियन्त्रण गर्न र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन माग गर्नुभयो।
बैठकमा समसामयिक सुरक्षा घटनाबारे बोल्दै नेपाली कांग्रेसका नारायणदत्त मिश्रले सुनसरीको देवानगन्जमा दुई समुदायबीच भएको विवाद र झडपको न्यायिक छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गर्नुभयो।
जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिदले सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान र आस्थाका केन्द्रहरूमाथि भएको आगजनी र तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव बिग्रन नदिन सरकारलाई ठोस कदम चाल्न सुझाव दिनुभयो।
यसैगरी, नेकपाका राजेन्द्रलक्ष्मी गैरेले आर्थिक अभावका कारण विपन्न नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य सेवा प्रणालीलाई भरपर्दो बनाउन माग गर्नुभयो। सोही पार्टीका सुरेशकुमार आलेमगरले सुकुम्वासी र भूमिहीनहरूको समस्या दिगो रूपमा व्यवस्थापन गर्न तथा मदनकुमारी शाह (गरिमा) ले निर्वाचनको समयमा जनतासामु गरिएका प्रतिबद्धताहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।