पोखरामा रगतको मौज्दात घट्दै, ‘एबी पोजेटिभ’ को अभाव : आकस्मिक रक्तदानका लागि आह्वान
काठमाडौँ, जेठ २१ । गण्डकी प्रदेशको राजधानी पोखरामा रगतको मौज्दात न्यून हुँदै गएपछि प्रादेशिक रक्तसञ्चार सेवाले आकस्मिक रक्तदानका लागि आह्वान गरेको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको प्रादेशिक रक्तसञ्चार सेवा पोखराका अनुसार विशेषगरी ‘एबी पोजेटिभ’ (AB+) समूहको रगतको मौज्दात अत्यन्त कम भएकाले माग धान्न कठिन भइरहेको छ ।
रक्तसञ्चार सेवाका प्रमुख अर्जुन ज्ञवालीले जेठ १९ गतेदेखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यो अभाव सिर्जना भएको जानकारी दिनुभयो। उहाँले यस अवधिमा रगतको संकट बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विभिन्न सामाजिक सङ्घसंस्था, क्लब, आमा समूह, सहकारी तथा युवा क्लबहरूलाई तत्काल रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभएको छ ।
“सानो प्रयासले कसैको अमूल्य जीवन बचाउन सक्छ भन्ने भावनाका साथ स्वैच्छिक रक्तदान गरिदिन हामी सबैमा अनुरोध गर्दछौँ,” प्रमुख ज्ञवालीले भन्नुभयो, “पोखरामा रगतको माग उच्च रहेकाले नियमित रूपमा रक्तदान कार्यक्रमहरू भइरहनु आवश्यक छ ।”
पोखरा मुख्य पर्यटकीय केन्द्र मात्र नभई स्वास्थ्य उपचारको ‘हब’ समेत रहेकाले यहाँ छिमेकी जिल्लाहरूबाट समेत ठूलो संख्यामा बिरामीहरू प्रेषित (रिफर) भएर आउने गर्दछन्। प्रादेशिक रक्तसञ्चार सेवाको तथ्याङ्कअनुसार पोखरामा हाल दैनिक औसत ७० देखि ८० युनिट रगतको आवश्यकता पर्ने गरेको छ। रगतको अभावमा बिरामीको उपचारमा बाधा पुग्न सक्ने भएकाले सार्वजनिक रूपमा यो अपिल गरिएको हो ।