किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता

गण्डकी, २४ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरो खसेर थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न स्थानीय प्रशासनले सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारका डिमुवा, अमबोटलगायत बस्तीमा माइकिङ गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्थानीयवासीबाट पहिरोले खोला थुनिएको भन्ने खबर आएपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको बताउनुभयो ।