सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध: कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित
काठमाडौँ, २० जेठ । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दल आबद्ध सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक नियमित कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
आजको पूर्वनिर्धारित कार्यसूची अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यक्रम थियो।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव र प्रतिनिधिसभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने बेग्लाबेग्लै प्रस्तावहरू प्रस्तुत गर्ने कार्यतालिका रहेको थियो।
बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध प्रदर्शन र नाराबाजी सुरु गरेका थिए। अध्यक्ष दाहालले आन्दोलनरत सांसदहरूलाई शान्त रहन र निर्धारित कार्यसूची अगाडि बढाउन पटक–पटक आग्रह गर्नुभए पनि अवरोध जारी नै रहेपछि बैठक स्थगित गरिएको हो।
सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ २६ गते मङ्गलबार अपराह्न १:१५ बजे बस्ने गरी तोकिएको छ।