मानव बेचबिखन नियन्त्रणका लागि काठमाडौँ महानगरको सक्रियता : ३२ वटै वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिकाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि आफ्ना ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई विशेष अभिमुखीकरण तालिम प्रदान गरेको छ। महानगरले दुई चरणमा कार्यक्रम आयोजना गरी वडास्तरका जनप्रतिनिधिहरूलाई यस सम्बन्धी कानुनी, नीतिगत र व्यवहारिक पक्षबारे जानकारी गराएको हो।

पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा वडा नम्बर १७ देखि ३२ सम्मका जनप्रतिनिधिहरूलाई तालिम दिइएको महानगरपालिकाले जनाएको छ। कार्यक्रममा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले मानव बेचबिखन विरुद्धका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले यस अपराधको न्यूनीकरण र प्रभावितहरूको संरक्षणमा ब्युरोले खेलिरहेको भूमिकाबारे समेत प्रष्ट पार्नुभयो।

त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव वसन्तप्रसाद पन्थीले ‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२’ र मन्त्रालयको जिम्मेवारीबारे प्रस्तुतीकरण दिनुभएको थियो। महानगरपालिकाको आफ्नै संयन्त्र र कार्यविधिका बारेमा जानकारी दिँदै राजस्व विभागका प्रमुख दीपक अधिकारीले ‘काठमाडौँ महानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि, २०७८’ माथि प्रकाश पार्नुभएको थियो।

अभिमुखीकरणको समापनका क्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १० का अध्यक्ष रामकुमार केसी, वडा नम्बर २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र वडा नम्बर २९ का अध्यक्ष कुश ढकालले तालिममा सिकेका ज्ञानलाई वडास्तरमा व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

स्थानीय तहमा मानव बेचबिखनका नयाँ–नयाँ स्वरूपहरू देखा परिरहेकाले जनप्रतिनिधिहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएर टोल–टोलमा निगरानी र सचेतना बढाउनुपर्ने उनीहरूको भनाइ थियो। कार्यक्रममा ३२ वटै वडाका वडा सदस्य तथा पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।