भारतमा ‘कक्रोच जनता पार्टी’को पहिलो शक्ति प्रदर्शन: शिक्षामन्त्रीको राजीनामा माग्दै सडकमा युवा
एजेन्सी, २४ जेठ । भारतमा पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ (सिजेपी) पहिलो पटक सडक आन्दोलनमा उत्रिएको छ। सन् २०२६ को प्रश्नपत्र चुहावट र परीक्षा मूल्याङ्कनमा भएको अनियमिततालाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै शनिबार नयाँ दिल्लीको जन्तर मन्तरमा विशाल प्रदर्शन गरिएको हो।
पार्टीका संस्थापक अभिजित दिप्केको आह्वानमा भएको यस प्रदर्शनमा हजाराैंको सङ्ख्यामा युवाहरू सहभागी भएका छन्। उनीहरूले शिक्षा मन्त्रालय र मन्त्री प्रधानविरुद्ध चर्को नाराबाजी गर्दै विरोध जनाएका छन्।
संस्थापक दिप्केले शिक्षामन्त्री प्रधानलाई राजीनामा दिनका लागि शनिबार साँझ ५ बजेसम्मको समयसीमा (अल्टिमेटम) दिएका थिए। तोकिएको समयभित्र राजीनामा नआए यो आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका हुन्।
विशेषगरी चिकित्सा शिक्षाको प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट र सीबीएसईको उत्तरपुस्तिका मूल्याङ्कनमा प्रयोग गरिएको डिजिटल प्रणालीमा भएको धाँधलीले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप यो समूहले लगाएको छ।
लद्दाखका चर्चित वातावरण तथा शिक्षा अभियानी सोनाम वाङचुक पनि कक्रोच जनता पार्टीको यस प्रदर्शनमा सहभागी हुन जन्तर मन्तर पुगेका थिए। उनले भारतीय शिक्षा क्षेत्रमा अपेक्षित सुधार नभएको भन्दै युवाहरूको निराशालाई सरकारले सम्बोधन गर्नुपर्ने बताए। “चार दशकदेखि म सरकारी विद्यालय सुधारमा लागिरहेको छु, तर अहिलेको अवस्था हेर्दा परिवर्तन निकै सुस्त र त्रुटिपूर्ण देखिएको छ,” वाङचुकले भने।
‘कक्रोच जनता पार्टी’ को पृष्ठभूमि निकै रोचक छ। गत महिना भारतका प्रधानन्यायाधीशले अदालतको सुनुवाइका क्रममा केही व्यक्तिलाई ‘ककरोच’ (साङ्ला) र ‘परजीवी’ भनेर टिप्पणी गरेपछि त्यसको प्रतिवादस्वरूप अभिजित दिप्केले यो व्यङ्ग्यात्मक अभियान सुरु गरेका थिए।
छोटो समयमै यो अभियान युवाहरूमाझ यति लोकप्रिय भयो कि हाल यसको इन्स्टाग्राममा २ करोड २० लाखभन्दा बढी फलोअर्स पुगेका छन्। यो सङ्ख्या भारतका ठूला राजनीतिक दल भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसको भन्दा पनि बढी हो।
यस अभियानका नेतृत्वकर्ता ३० वर्षीय दिप्के महाराष्ट्रका हुन्। पुणेबाट पत्रकारितामा स्नातक गरेपछि उनले अमेरिकाको बोस्टन विश्वविद्यालयबाट जनसम्पर्कमा स्नातकोत्तर गरेका छन्। सन् २०२० देखि २०२३ सम्म उनले आम आदमी पार्टीको चुनावी अभियान र सामाजिक सञ्जाल व्यवस्थापनमा समेत काम गरेका थिए।