बाढी र पहिरोको वितण्डा: देशका आधा दर्जन मुख्य सडक ठप्प, बिपी र कान्ति लोकपथमा रातको समयमा रोक

काठमाडौँ, २४ साउन । अविरल वर्षा, पहिरो र सडक भासिएका कारण मुलुकका विभिन्न भागमा यातायात सेवा प्रभावित भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका आधा दर्जन मुख्य सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

बाढी र पहिरोको उच्च जोखिमलाई दृष्टिगत गर्दै बिपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । यहाँ बेलुका ६:०० देखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन चलाउन पाइने छैन । यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि सुरक्षा संवेदनशीलताका कारण बेलुका ५:०० देखि बिहान ५:०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

अरनिको राजमार्ग (सिन्धुपाल्चोक): भोटेकोशी गाउँपालिकाको जिरोकिलोमा पहिरो खसेको छ भने लिपिङ क्षेत्रमा सडक भासिएकाले यो राजमार्ग पूर्णतः अवरुद्ध छ । यस्तै, चौतारा साँगाचोकगढीको डुम्रेमा पनि सडक ठप्प छ ।

मेची राजमार्ग (इलाम): इलाम नगरपालिका–९ राजदुवालीस्थित सडकखण्ड वर्षाका कारण अत्यधिक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी (रसुवा): उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएकाले यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ ।
भेरी करिडोर (रुकुम पश्चिम): जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रिजेगार्ड खोलामा पहिरो खस्दा यातायात सेवा विच्छेद भएको छ ।
मध्यपहाडी लोकमार्ग (तेह्रथुम): लालीगुराँस नगरपालिकाको पिङवाखोला नजिकै पहिरो खसेपछि लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम छिनछिनमा परिवर्तन भइरहने भएकाले लामो दूरीको यात्रामा निस्कनुअघि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।