भारतबाट ४ हजार भाइल ‘कार्बोप्लाटिन’ औषधि ल्याइँदै, क्यान्सरका बिरामीलाई केही राहत
काठमाडौँ, २४ जेठ । लामो समयदेखि बजारमा अभाव देखिएको क्यान्सरको उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधि भारतबाट नेपाल भित्रिन लागेको छ। औषधि व्यवस्था विभागको समन्वयमा आयातकर्ताहरूले किमोथेरापीका लागि अत्यावश्यक मानिने यो औषधिको ४ हजार भाइल ल्याउन लागेका हुन्।
औषधि आयातकर्ता सङ्घका अनुसार शनिबार सम्म १५० एमजीका ५०० भाइल औषधि काठमाडौँ भित्रिने छन् भने आगामी मङ्गलबारसम्म थप ३ हजार ५०० भाइल (४५० एमजीका १४०० र १५० एमजीका २१००) औषधि आइपुग्ने कार्यतालिका रहेको छ।
आयात गरिएको औषधिको समुचित वितरणका लागि विशेष योजना बनाइएको औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले जनाएका छन् । “हामीले आएको औषधिको पूर्ण रेकर्ड राख्नेछौँ,” अध्यक्ष आचार्यले भन्नुभयो, “बिरामीको आधिकारिक पुर्जीका आधारमा मात्र औषधि उपलब्ध गराइनेछ ताकि यसको दुरुपयोग नहोस्।” यो ४ हजार भाइल औषधिले सामान्य अवस्थामा करिब ४५ दिनको माग धान्ने अनुमान गरिएको छ।
नेपालमा बर्सेनि करिब २४ हजार भाइल कार्बोप्लाटिन खपत हुने गरे पनि अहिले बजारमा यसको मौज्दात शून्य जस्तै छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्नु, अमेरिकी डलर महँगो हुनु र नेपालमा लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा मुख्यतया भारत र बङ्गलादेशबाट हुने आयात प्रभावित भएको सरोकारवालाहरू बताउँछन्।
विभागको अनुगमनपछि निजी क्षेत्रले औषधि भित्र्याउन पहल थालेको हो। यसले क्यान्सरको गम्भीर उपचार गराइरहेका सयौँ बिरामीलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।