आत्मसम्मान फर्काउँदै बैतडीका स्थानीय तह: विभेदकारी गाउँका नाम परिवर्तन अभियान तीव्र

बैतडी, २४ जेठ । बैतडीका विभिन्न स्थानीय तहले विगतमा जातीयता वा अन्य आधारमा अपमानित हुने गरी राखिएका गाउँ तथा टोलका विभेदकारी नामहरू परिवर्तन गर्ने अभियान थालेका छन्। विभिन्न समुदायलाई अपहेलना र होच्याउने गरी राखिएका पुराना नामहरू सच्याएर नयाँ र सम्मानजनक नाम राख्न थालिएको हो।

यसै अभियानअन्तर्गत पाटन नगरपालिका–५ मा रहेको ‘डिम्यौडा’ टोलको नाम परिवर्तन गरी ‘सिर्जना’ टोल कायम गरिएको छ। दलित समुदायको बाहुल्यता रहेको उक्त गाउँलाई विगतमा अपमानजनक रूपमा ‘डिम्यौडा’ भन्ने गरिएकाले नाम परिवर्तन गरिएको वडाध्यक्ष फुनिसिंह बोहराले जानकारी दिनुभयो। “दलित समुदायको बसोबास भएकाले विगतमा होच्याउने किसिमले टोलको नाम राखिएको थियो,” उहाँले भन्नुभयो, “त्यस बस्तीका नागरिकहरूले आफ्नो हस्तकला र कौशलबाट विभिन्न सामग्री सिर्जना गर्ने भएकाले नयाँ नाम ‘सिर्जना टोल’ जुराएका हौँ।”

पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराका अनुसार नगरपालिकाभित्र हालसम्म यस्ता २२ वटा गाउँ तथा टोलको नाम परिवर्तन भइसकेको छ। जातीयताका आधारमा विभेद झल्किने पुराना नाम फेरिएपछि स्थानीय बासिन्दाहरूले आत्मसम्मान महसुस गर्न थालेका छन्। पाटन–६ का स्थानीय बासिन्दा राजु भुलले भन्नुभयो, “पहिले आफ्नो गाउँको नाम बताउन पनि असहज हुन्थ्यो। वर्षौंपछि जातीय अपमान हुने खालका नाम परिवर्तन हुँदा अहिले धेरै सहज र गौरव महसुस भएको छ।”

यसैगरी, जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अपमानजनक अर्थ लाग्ने गाउँका नामहरू सच्याउने निर्णय गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टका अनुसार स्थानीय नागरिकहरूसँग समन्वय गरी नयाँ नामका लागि प्रस्ताव आह्वान गरिएको छ। चालू आर्थिक वर्षभित्रै गाउँपालिकाका धेरै गाउँहरूको नाम परिमार्जन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।