इरान द्वन्द्वका बीच ‘ओपेक प्लस’ले तेल उत्पादन बढाउने तयारी गर्दै, बजारमा भने प्रभाव कमजोर
एजेन्सी, २४ जेठ । इरान द्वन्द्वका कारण तेल आपूर्ति अवरुद्ध भई अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिएपछि पेट्रोलियम निर्यातक देशहरूको सङ्गठन ‘ओपेक प्लस’ले तेल उत्पादन बढाउने तयारी गरेको छ। आइतबार बस्ने ओपेक प्लसका मन्त्रीहरूको बैठकमा बढ्दो तेलको मूल्य नियन्त्रण गर्न उत्पादन कोटा बढाउने विषयमा छलफल हुने बताइएको छ।
विश्लेषकहरूका अनुसार आगामी बैठकले दैनिक करिब १ लाख ८८ हजार ब्यारेलसम्म तेल उत्पादन बढाउने निर्णय गर्न सक्ने सम्भावना छ। यद्यपि, सीमित उत्पादन क्षमताका कारण साउदी अरेबिया, रुस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमान गरी सातवटा देशले मात्र वास्तविक रूपमा आपूर्ति बढाउन सक्ने अवस्था रहेको बताइएको छ।
इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि विश्वकै महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ बन्द प्रायः भएको छ। विश्वको कूल तेल तथा ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने यो मार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य झन्डै दोब्बर पुगेको छ। यसको प्रत्यक्ष असर विश्वभरको मुद्रास्फीति (मूल्यवृद्धि) मा पर्न थालेको छ।
विशेषज्ञहरूका अनुसार ओपेक प्लसले उत्पादन बढाउने घोषणा गरे पनि बजारमा यसको वास्तविक प्रभाव भने न्यून हुने देखिएको छ। स्याक्सो बैंकका विश्लेषक ओले ह्यान्सनले ओपेकसँग बजारमा निर्णायक परिवर्तन ल्याउने विकल्पहरू सीमित रहेको उल्लेख गर्दै तेल बजारमा यसको नीतिगत प्रभाव पहिलेको तुलनामा कमजोर बन्दै गएको बताउनुभयो।