सीमा विवादमा प्रधानमन्त्रीले ढोल बजाउँदा अध्यक्ष लामिछाने ढोल नबजाई दिल्लीबाट फिर्ता, खनालको के–होला ?

काठमाडौं, २४ जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहनु भएका प्रधानमन्त्री बालेन्द्र साहले केही दिन अघि संसदमा उँभिएर बोलेका दुई कुराले वैदेशिक कुटनीतिमा हलचल ल्याइदियो । पहिलो, भारतले मात्रै होइन नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने आशयको अभिव्यक्ति अनि दोस्रोचाँहि बेलायतसँग सीमा विवादबारे कुराकानी भइरहेको छ भन्ने अभिव्यक्ति ।

यी दुबै अभिव्यक्ति कस्तो बेलामा बाहिर आए भने रास्वपा सभापति रवि लामिछाने ५ दिने भारत भ्रमणमा जाने सन्निकटमा । प्रधानमन्त्री साहका ती अभिव्यक्तिसँगै भारतले पनि आ–आफ्नै ढंगको कुटनीतिमार्फत जवाफ दियो । बालेनको अभिव्यक्तिमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साप्ताहिक पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिलाई लक्षित गर्दै नेपालको विदेश (परराष्ट्र) मन्त्रालयको तर्फबाट जारी गरिएको वक्तव्य हामीले देख्यौं भन्दै भारत–नेपाल सीमाको लगभग ९८ प्रतिशत हिस्सा निर्धारित भइसकेको र केही हिस्सामा केही समस्या रहेको अनि त्यसलाई सुल्झाउन बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।

सुल्झाउन बाँकी सीमा समस्या गण्डक नदीको बहावमा परिवर्तनको सन्र्दभ जोड्दै उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीसँग नभई नवलपरासीको सुस्तासँग सम्बन्धित विषयको जवाफ फर्काउनुभयो । त्यति मात्रै होइन भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले सिधै बेलायतको नाम नलिए पनि त्यसतर्फ संकेत गर्दै नेपालसँगको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै पनि भूमिका नरहने प्रष्ट पार्नुभएको थियो ।

भारत लिपुलेक, लिम्पिया धुरा र कालापानीका विषयमा प्रष्ट अडानमा रहिरहेका बेला प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपा सभापति लामिछानेको भारत भ्रमण र परराष्ट्रमन्त्री शिशिर खनालको भ्रणले केही नयाँ सन्देश आउने अपेक्षा नेपाली जनताले गरेका थिए । तर, उहाँहरु दुबैजनाको भारत भ्रमण उहाँहरुले व्यक्तिगत रुपमा फलदायी भयो भनेर चर्चा गरे पनि कुटनीतिक सन्देशका हिसावले हेर्ने हो भने सन्तोषजनक नभएको देखिएकोछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उच्चस्तरका नेताहरूसँग भेट गरेर पाँचदिनपछि नेपाल फर्किनु भएको लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘कुनै पनि विषय कूटनीतिक माध्यमबाट, कूटनीतिक च्यानलहरूलाई एक्टिभ गरेर गराइनुपर्ने कुराहरू हुन्छन् भन्दै तीनको आवाज एकदम हल्ला गरेजस्तो ढोल बजाएर हुँदैनन् भन्नुभएको थियो । त्यतिमात्रै होइन वाचाल वाक्पटु लामिछानेले त्यतिबेला ‘ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू, गर्नुपर्ने ठाउँमा गर्नुपर्ने, समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ’ भन्दै सोधिएका प्रश्नलाई थुमथुम्याउने प्रयास गर्नुभएको थियो ।

संयोग के भने सभापति लामिछाने फर्किएकै दिन अर्जात शुक्रबार नै परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जानुभयो । भारत भ्रमणमा उहाँले पनि उच्चस्तरीय भेट गर्नुभएको छ । तर, यी भेटमा सीमा विवाद र समस्या समाधानका विषयमा गहिरो गरी के विषयको उठान भयो भन्ने जानकारी नेपाली जनताले पाउन सकेका छैनन् । परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री डाएस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तापछिभारतीय विदेश मन्त्रालयले ८ बूँदे विज्ञप्ति जारी पनि गरेको छ । उस्ले सार्वजनिक गरेको विज्ञप्तिमा सीमा सम्बन्धी कुनै संवाद भएको खुलाइएको देखिदैँन । भारतले कैलाश मानसरोबार यात्राका लागि चीनसँगको छलफलबाट नेपालको भूमि हुँदै बाटो खुला गरेको छ । यो विषयमा नेपाल वेखवर जस्तै छ । भारत भ्रमणका क्रममा परराष्टमन्त्री खनालले पनि प्रष्टरुपमा यो विषयमा खुलेको देखिँदैन ।

यद्यपि, भारतमै भएको पत्रकार सम्मेलनमा भने उहाँले ‘हाम्रा चासोहरू भारत र चीनबीच लिपुलेक र कालापानी क्षेत्रलाई लिएर भएको नयाँ सम्झौताप्रति हुन्, जहाँ हामीले धेरै लामो समयदेखि ती भूमिहरू हाम्रा हुन् भनेर आफ्नो दाबी प्रस्तुत गर्दै आएका छौँ । र हाम्रो सहमति बिना दुई देशले आफैँ सम्झौता गर्न सक्दैनन् । यो कुरा हामीले दुवै देशलाई कूटनीतिक नोटहरू सहितका निकै प्रष्ट रूपमा जानकारी गराएका छौँ।’ भन्दै थोरै भए पनि चासो व्यक्त गर्ने प्रयास गरेको सुनियो । तर, यो जटिल कुरालाई हल्का ढंगले समाधान हुने कुनै संकेत देखिदैँन । प्रधानमन्त्री साहले संसदमा बोलको भनाईलाई टालटुल गर्न विदाकै दिन परराष्ट मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको यो विषय मूलतः दसगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको भन्दै बचाउ गरेको थियो । त्यो बाहेक थप प्रष्ट परराष्टले पनि पार्न सकेको छैन । यसरी हेर्दा प्रधानमन्त्रीको भनाई र दुई नेताको भारत भ्रमणबाट पनि सीमा विवादको विषयले निकास पाउने संभावना निकै कम देखिएको छ ।