रास्वपा बाराका कार्यकर्ताद्वारा केन्द्रीय कार्यालय घेराउ, निष्पक्षता र पारदर्शिताको माग
काठमाडौँ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारास्थित कलैया उपमहानगरपालिकाका पार्टी कार्यकर्ताहरूले काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्। नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर उत्पन्न विवादका विषयमा निष्पक्षता र पारदर्शिताको माग गर्दै उनीहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।
आन्दोलित कार्यकर्ताहरूका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशङ्कर रौनियार १२४ मत प्राप्त गरी नगर सभापतिमा निर्वाचित भएका थिए। निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहणसमेत सम्पन्न भइसकेको अवस्थामा पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ।
मधेस प्रदेश समितिले ‘५० प्रतिशत प्लस १’ को बहुमत नपुगेको भन्दै पुनः निर्वाचन गराउने सूचना जारी गरेको प्रदर्शनकारीहरूको दाबी छ। तर, पार्टी विधान र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत उक्त निर्णय गरिएको उनीहरूले आरोप लगाएका छन्। एक पटक निर्वाचन सम्पन्न भई विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय स्वीकार्य नहुने उनीहरूको अडान छ।
कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा जिम्मेवार व्यक्तिको हस्ताक्षरविना सामाजिक सञ्जालमार्फत मात्रै निर्वाचन रद्द भएको जानकारी गराइएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले पार्टी नेतृत्वसँग यसको स्पष्ट जवाफ माग्दै अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्न र विधानसम्मत निर्णय लिन माग गरेका छन्।
अधिवेशन सम्पन्न भई नेतृत्व चयन र शपथ ग्रहणसमेत भइसकेको अवस्थामा पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको उनीहरूको दाबी छ।