भीषण गर्मी र खडेरीले धानको ब्याड सुक्न थाल्यो : उदयपुरका किसान चिन्तित

काठमाडौँ, जेठ २४ । जेठको प्रारम्भदेखि नै सुरु भएको अत्यधिक गर्मी र सुक्खा खडेरीका कारण उदयपुरका किसानहरू चिन्तित बनेका छन् । असार र साउन महिनाको मुख्य रोपाइँका लागि राखिएको धानको ब्याड (बीउ) सुक्न थालेपछि किसानहरूमा यस वर्षको बाली प्रभावित हुने चिन्ता थपिएको हो ।

विशेषगरी जिल्लाको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रका किसानले राखेको ब्याडमा बढी असर देखिएको छ । प्रचण्ड गर्मीका कारण बीउ राखिएको माटोमा ठुल्ठूला चिरा पर्न थालेका छन्, जसले गर्दा धानको बीउ उम्रन नसक्ने अवस्था सिर्जना भएको छ ।

त्रियुगा नगरपालिका १ जोगीदहका किसान मोहनदेव चौधरीले बढ्दो तापक्रम र खडेरीले ब्याड नै सुकाएपछि धानको बीउ उम्रन नसक्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार धेरै किसानले जेठको पहिलो सातासम्म बीउ राखिसकेका थिए, तर मौसम प्रतिकूल हुँदा लगानी खेर जाने डर बढेको छ ।

त्रियुगा नगरपालिका १३ पोर्ताहका किसान प्रेमप्रसाद दाहालले जेठ १ गते नै ब्याड राखे पनि खडेरीले गर्दा समस्या भएको गुनासो गर्नुभयो । “खडेरीले ब्याडमा चिरा परेको छ, यस्तै अवस्था रहेमा असारको अन्तिम र साउनमा हुने रोपाइँका लागि बीउको अभाव हुने देखिएको छ,” दाहालले भन्नुभयो ।

यस्तै, त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रका किसान दयानाथ भट्टराईले जेठको सुरुवातदेखि नै तातो हावा (लू) र सुक्खा खडेरी चल्दा बीउ उत्पादन गर्न कठिनाइ भइरहेको उल्लेख गर्नुभयो । सोही क्षेत्रका अर्का किसान कृष्णप्रसाद फँुयालका अनुसार भुल्के क्षेत्रमा मात्रै झण्डै १५० भन्दा बढी धानका ब्याडहरू रहेका छन्, जसमा अहिले सुक्खाका कारण प्रतिकूल असर परिरहेको छ ।

चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेका कृषक धनपति पौडेलका अनुसार उदयपुरमा सामान्यतया वैशाख अन्तिमदेखि जेठ पहिलो हप्तासम्म ब्याड राख्ने र असार तेस्रो हप्तादेखि साउनसम्म रोपाइँ गर्ने परम्परा छ । तर, यसपटक लामो समयसम्म पानी नपर्दा र तापक्रम उच्च रहँदा समयमै रोपाइँ गर्न नसकिने हो कि भन्ने भयले किसानहरूलाई सताएको छ ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि खडेरीले ब्याड नै नष्ट गर्न थालेपछि कृषि उत्पादनमा समेत ह्रास आउने सम्भावना बढेको छ ।