क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा

एजेन्सी, २४ जेठ । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाडी क्षेत्रमा सुरक्षा संवेदनशीलता थप बढेको छ। यस घटनाले यसअघि नै कमजोर अवस्थामा रहेको क्षेत्रीय युद्धविरामलाई फेरि जोखिममा पारेको छ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानले होर्मुज जलसन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रतर्फ सातवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। प्रहार गरिएकामध्ये छ वटा क्षेप्यास्त्रलाई आकाशमै निष्क्रिय पारिएको र बाँकी एउटा क्षेप्यास्त्र लक्ष्यमा नपुगी खसेको अमेरिकी सैन्य स्रोतले जनाएको छ।

बहराइनमा रहेको अमेरिकी जलसेनाको पाँचौँ फ्लीटको मुख्यालयलाई लक्षित गरी भएको यस आक्रमणलाई बहराइन सरकारले ‘खुला आक्रमण’ को सङ्ज्ञा दिएको छ। यस्तै, कुवेतले पनि यसलाई ‘खतरनाक तनाव वृद्धि’ भन्दै आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

आक्रमणका क्रममा बहराइनको राजधानी मनामामा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए भने कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पनि लगातार विस्फोट भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अचानक भएका ठूला विस्फोटका कारण ती क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको बताइएको छ।

यस पछिल्लो घटनाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काउने र अमेरिका–इरानबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष तनावलाई अझ जटिल बनाउने सङ्केत देखाएको छ।