पोखरी निर्माणपछि भोजपुरको सिक्रेटारका १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ सुविधा
भोजपुर, २४ जेठ । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी निर्माण गरिएपछि वर्षौँदेखिको सिँचाइ समस्या समाधान भएको छ। पानीको अभावका कारण खेतीयोग्य जमिन बाँझै रहने समस्या अन्त्य गर्न स्थानीय वडा कार्यालयको अग्रसरतामा पोखरी निर्माण कार्य अघि बढाइएको हो।
वडा कार्यालयका अनुसार सिक्रेटार क्षेत्रमा हालसम्म छ वटा पोखरी निर्माण सम्पन्न भइसकेका छन्। वडासचिव अशोक अधिकारीले मैदानेमा दुई, दुङ्गेमा एक, सिक्रेटारमा एक र बेलटारमा दुई वटा पोखरी निर्माण भइसकेको र थप दुई वटा पोखरी निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो। यस अभियानबाट सिक्रेटार क्षेत्रका करिब एक हजार ५०० रोपनी जमिनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सिँचाइ सुविधा पुगेको छ।
बर्सेनि खडेरीका कारण कृषि उत्पादनमा ह्रास आउन थालेपछि योजनाबद्ध रूपमा सिँचाइ पोखरी निर्माण कार्य अघि बढाइएको वडाध्यक्ष कुमार थापाले बताउनुभयो। “सुक्खा क्षेत्रमा पानीको दिगो व्यवस्थापन विना कृषिको विकास सम्भव नहुने भएकाले मुहानसहितका ठूला पोखरी निर्माण गरेका हौँ,” वडाध्यक्ष थापाले भन्नुभयो। वडा कार्यालयले सिँचाइका अतिरिक्त विपद् व्यवस्थापन (जस्तै आगलागी) का लागि पानीको स्रोतका रूपमा प्रयोग गर्न सकिने गरी पोखरी निर्माण गरेको छ। साथै, खेतबारीसम्म पानी पुर्याउन किसानहरूलाई पाइप वितरणसमेत गरिएको छ।
सिँचाइको व्यवस्था भएपछि स्थानीय किसानहरू हिउँदे बाली र नगदेबालीतर्फ आकर्षित भएका छन्। हिजोआज यस क्षेत्रका कृषकले बदाम, फलफूल, आलु, प्याज, र टमाटर जस्ता उपज उत्पादन गर्न थालेका छन्। स्थानीय कृषक प्रदीप थापाले पोखरी निर्माणले गाउँको परम्परागत खेती प्रणालीमा परिवर्तन ल्याएको बताउनुभयो। “पहिले पानी नहुँदा खेतबारी बाँझै रहन्थ्यो, अहिले वर्षैभरि खेती गर्न पाइएको छ,” उहाँले भन्नुभयो।
यसका साथै, जलाधार संरक्षणले भू-क्षय नियन्त्रण, जैविक विविधता र स्थानीय वातावरण संरक्षणमा समेत योगदान पुगेको स्थानीय बासिन्दा अम्बर थापाको भनाइ छ। वडा कार्यालयले यी पोखरी वरपर वृक्षारोपण कार्यक्रम सुरु गरेको छ र भविष्यमा यस क्षेत्रलाई पर्या-पर्यटन र मनोरञ्जन स्थलका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।