मधेश प्रदेशमा पहिलोपटक फेला पर्‍यो काँडेभ्याकुर, सातै प्रदेशमा उपस्थिति पुष्टि

काठमाडौँ, २४ जेठ । नेपालमा मात्र पाइने रैथाने चरा ‘काँडेभ्याकुर’ पहिलोपटक मधेश प्रदेशमा फेला परेको छ। समुद्री सतहदेखि ४४३ मिटरको उचाइमा रहेको बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरे वन क्षेत्रको दुधौरा खोला नजिकै यो चरा फेला परेको हो। यो हालसम्मकै सबैभन्दा कम उचाइमा काँडेभ्याकुर अभिलेख गरिएको पहिलो घटना हो।

नेपाल पन्छीविद् सङ्घका अनुसार चराविद्हरू हठन चौधरी र सुरज बरालले चरा अवलोकनका क्रममा गत जेठ २१ गते दुधौरा खोलाको पूर्वी शाखा किनारमा यस चराको पहिचान र अभिलेख गर्नुभएको हो। चरा अवलोकन टोलीमा वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू आंशिष पन्त, सुमीसिंह ठकुरी र निश्चल पोखरेल पनि सहभागी हुनुहुन्थ्यो।

नेपाल पन्छीविद् सङ्घ र मिथिला ‘वाइल्डलाइफ ट्रस्ट’को संयुक्त सहकार्यमा हाल मधेश प्रदेशका आठवटै जिल्लामा चरा सर्वेक्षणको काम भइरहेको छ। पहिलो चरणको सर्वेक्षण जाडोयामलाई लक्षित गरी गत माघ–फागुनमा गरिएको थियो भने दोस्रो चरणको गर्मीयाम लक्षित सर्वेक्षण गत जेठ १८ गतेदेखि सुरु भएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागको अनुमतिमा पर्सा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र मधेश प्रदेशका डिभिजन वन कार्यालयहरूसँग समन्वय गरी यो सर्वेक्षण भइरहेको सङ्घले जनाएको छ।

काँडेभ्याकुर नेपालमा मात्र पाइने रैथाने चरा हो। प्रायः पहाडी क्षेत्रमा बढी पाइने यो चरा यसअघि नेपालका अन्य ६ वटा प्रदेशमा अभिलेख भइसकेको थियो। अब बारा जिल्लामा पनि यो चरा फेला परेसँगै यसको भौगोलिक फैलावट नेपालका सातवटै प्रदेशमा पुष्टि भएको छ।