बेगनासतालमा आजदेखि छैटौँ डुङ्गा दौड प्रतियोगिता : पर्यटन प्रवर्द्धनसँगै जल सुरक्षामा जोड
कास्की, २७ जेठ । पोखराको दोस्रो ठूलो ताल बेगनासतालमा आजदेखि छैटौँ संस्करणको ‘खुला पुरुष तथा महिला डुङ्गा दौड प्रतियोगिता’ सुरु हुँदैछ । बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुन लागेको यस प्रतियोगिताले पोखराको खेल पर्यटनमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।
बेगनासताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र तालको धार्मिक एवं पर्यटकीय महत्व उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । साथै, तालमा हुन सक्ने सम्भावित जल दुर्घटनाका विषयमा सचेतना फैलाउनु पनि प्रतियोगिताको मुख्य लक्ष्य रहेको समितिका अध्यक्ष नवाराज बाँस्तोलाले जानकारी दिए ।
प्रतियोगितामा पुरुष र महिलाका लागि छुट्टाछुट्टै दूरी तय गरिएको छ :
पुरुषतर्फ : बेगनासताल डुङ्गाघाटदेखि रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब २ किलोमिटर ।
महिलातर्फ : बेगनासताल डुङ्गाघाटदेखि पिप्लेटुँडासम्म १ किलोमिटर ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा हुने यस प्रतियोगिताका विजेताहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन् । निर्णायक समितिका संयोजक रविराज कँडेलका अनुसार पुरस्कारको राशि प्रथम १५ हजार रुपैयाँ, द्वितीय १० हजार रुपैयाँ, तृतीय ५ हजार रुपैयाँ र सान्त्वना ३ हजार रुपैयाँ (सबै पुरस्कार नगद र प्रमाणपत्रसहित) रहेकाे छ ।
प्रतियोगितामा महिला र पुरुषतर्फ गरी करिब २२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रत्येक टोलीमा ३ जना डुङ्गा चालक (खेलाडी) रहनेछन् । बेगनासतालमा हुने यो प्रतियोगिताले आन्तरिक पर्यटक आकर्षित गर्नुका साथै स्थानीय डुङ्गा चालकहरूको सीपलाई पनि प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।