मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौँ, जेठ ३१ ।  झापाको मेचीनगर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान मेचीनगर नगरपालिका ४ निवासी ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणमा परी ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानका अनुसार आज बिहानै घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको थियो ।

जङ्गली हात्तीले कुल्चँदा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षण (पोस्टमार्टम) का लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पठाइएको छ ।

झापाको मेचीनगर लगायत आसपासका क्षेत्रमा पछिल्लो समय जङ्गली हात्तीको आतङ्क बढ्दै जाँदा मानवीय र भौतिक क्षति हुने क्रम बढ्दो छ ।