चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकको उपाधि कास्कीलाई

काठमाडौँ, जेठ ३१ । स्याङ्जाको वालिङमा सम्पन्न चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिक प्रतियोगितामा कास्की जिल्लाले समग्रमा प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ ।

सैनिक बोर्डको जिम्नास्टिक प्रशिक्षण केन्द्रमा दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा आयोजक जिल्ला स्याङ्जा दोस्रो र बागलुङ तेस्रो भएका छन् । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बागलुङ, नवलपुर र पर्वत गरी पाँच जिल्लाका ३८ जना महिला तथा पुरुष खेलाडीहरूले सहभागिता जनाएका थिए ।

‘फ्लोर इभेन्ट्स’ र ‘भल्टिङ इभेन्ट्स’ गरी दुई विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको पुरुषतर्फ ‘फ्लोर इभेन्ट्स’ मा स्याङ्जाका सोनिस थापा प्रथम, स्याङ्जाकै श्रवण परियार द्वितीय र कास्कीका साइमन थापा तृतीय भए । त्यस्तै, पुरुषतर्फकै ‘भल्टिङ इभेन्ट्स’ मा कास्कीका मियोन गुरुङ प्रथम, कास्कीका सार्जन श्रेष्ठ द्वितीय र स्याङ्जाका सोनिस थापा तृतीय भएको वालिङ नगरपालिका जिम्नास्टिक सङ्घका अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

महिलातर्फको ‘फ्लोर इभेन्ट्स’ मा कास्कीकी लीला थापा प्रथम, स्याङ्जाकी जेनिशा गुरुङ द्वितीय र कास्कीकी मोनालिसा कार्की तृतीय भइन् । यसैगरी, महिलातर्फकै ‘भल्टिङ इभेन्ट्स’ मा कास्कीकी मोनालिसा कार्कीले प्रथम स्थान हासिल गरिन् भने स्याङ्जाकी नेशा गुरुङ द्वितीय भइन् । सोही विधाको तृतीय स्थानमा कास्कीकी लीला थापा, स्याङ्जाकी साधवी श्रेष्ठ र कास्कीकी क्रिस्टिना मश्राङ्गी रहन सफल भए ।

प्रतियोगितामा सबैभन्दा बढी पदक जितेको आधारमा कास्कीलाई समग्र विजेता घोषित गरिएको हो । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी दशौँ राष्ट्रिय खेलकुदको प्रारम्भिक छनोट र तयारीका लागि सहभागी गराइने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेश जिम्नास्टिक सङ्घको व्यवस्थापन र वालिङ नगरपालिका जिम्नास्टिक सङ्घको संयोजनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।